पर्यटन/संस्कृति

सरकारले पर्यटन क्षेत्रलाई सधैँ महत्व दिएको छ : सचिव अधिकारी

१८ भाद्र, काडमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयका सचिव सुरेश अधिकारीले सरकारले पर्यटन क्षेत्रलाई सधै महत्व दिएको बताएका छन् । पदयात्रा पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सीज् एशोसिएन अफ नेपाल (टान)को ४४ औँ वार्षिक साधारण सभाबाट निर्वाचित कार्यसमितिको शपथ ग्रहण तथा पदभार हस्तान्तरण कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रसँगको सहकार्य र सहभागिता बिना पर्यटन क्षेत्रको विकास हुन नसक्ने बताएका छन् ।

“कोरोना महामारीबाट थलिएको नेपालको पर्यटन क्षेत्रलाई पुनःउत्थान गर्नका लागि पर्यटन मन्त्रालयले ७३ बुँदे कार्ययोजना अगाडि सारेको छ, उक्त कार्ययोजनाको कार्यान्वयन गर्नका लागि निजी क्षेत्रको महत्वपूर्ण योगदान आवश्यक रहन्छ”, उनले भने ।

सचिव अधिकारीले पर्यटन क्षेत्रको विकासका लागि व्यापक पूर्वाधार विकासको आवश्यकता रहेको औँल्याए । व्यवसायीसँगको छलफलमा पर्यटन मन्त्रालयले सन् २०२३ देखि २०३३ सम्मलाई भ्रमण दशक मनाउने योजना अगाडि सारेको उनले उल्लेख गरे । पर्वतीय पर्यटन क्षेत्रमा देखिएका समस्या समाधानका लागि मन्त्रालय टानसँग सहकार्य गर्न तयार रहेको उनको भनाइ थियो ।

नेपाल पर्यटन वोर्डका उपाध्यक्ष चन्द्रप्रसाद रिजालले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्न सबै एकजुट भएर अगाडि बढ्नुपर्ने धारणा राखे । नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमा नुरु शेर्पाले पर्यटन क्षेत्रको पुनःउत्थान गर्नका लागि निजी क्षेत्र र सरकारबीच सहकार्य हुनुपर्ने धारणा राखे ।
टानका निवर्तमान अध्यक्ष खुमबहादुर सुवेदीले भने, “कोरोनाबाट थलिएको पर्यटन क्षेत्रलाई पुनःउत्थान गर्दै बढीभन्दा बढी पर्यटक भित्र्याउका लागि व्यवसायी एकताबद्ध भएर लागौँ ।”

टानका नवनिर्वाचित अध्यक्ष नीलहरि बाँस्तोला, महासचिव बाबु सापकोटा, कोषाध्यक्ष पुरुषोत्तम तिमल्सिनाले आम मतदाताले दिएको भोट र विश्वासलाई आफूहरुले गुम्न नदिने बताए । उनीहरुले निर्वाचनमा पराजित साथीहरुको एजेन्डालाई समेत समावेश गरेर आफूहरु अगाडि बढ्ने विश्वास व्यक्त गरे ।