पर्यटन/संस्कृति

नेपाल घुम्ने पर्ने मुलुक हो भनेर विश्वका बौद्ध समुदायमाझ प्रचार गर्न अत्यावश्यक : पर्यटनमन्त्री श्रेष्ठ

१८ भदौ, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले नेपाल एक पटक घुम्ने पर्ने मुलुक हो भनेर विश्वका बौद्ध समुदायमाझ प्रचार गर्न अत्यावश्यक रहेको बताएका छन् ।
धर्मोदय सभाको ७७ औँ केन्द्रीय वार्षिक साधारण सभालाई आज यहाँ सम्बोधन गर्दै मन्त्री श्रेष्ठले पर्यटन प्रवद्धनको अहिलेको तौरतरिका बदलेर नेपाल हिमाल हेर्न र पदयात्रा गर्न मात्रै हैन बा¥है महिना घुम्न सकिने साँस्कृतिक सम्पदायुक्त मुलुक पनि हो भनेर प्रचारात्मक अभियान थालिनु पर्नेमा जोड दिए ।
समाजमा विद्यमान अन्तरविरोध, तनाव र अस्वस्थ प्रतिस्पर्धालाई शान्तिमा रुपान्तरण गर्न बुद्धका सन्देशलाई व्यापक बनाउनुपर्ने उनको भनाइ थियो ।
उक्त साधारण सभामा बुद्ध धर्मको अध्ययन गरी खेन्पो (विद्यावारिधि) उपाधि हासिल गरेका तीन भिक्षु तथा भिक्षुणीलाई अभिनन्दन गरिएको थियो ।
अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु धम्मशोभन महास्थविरबाट पञ्चशील प्रदान गरी शुरु गरिएको उक्त कार्यक्रममा संस्थाका जेष्ठ सदस्य स्याङ्जाका ललित बहादुर गुरुङलाई पनि सम्मान गरिएको थियो ।
संस्थाका महासचिव सागरमान बज्राचार्यले संस्थाले १३ औँ राष्ट्रिय सम्मेलन यसै वर्ष आयोजना गर्ने तयारी गरिरहेको जानकारी साधारणसभालाई दिएका थिए । धर्मोदय सभाको ५६ जिल्लामा शाखाहरु रहेका छन् ।
यज्ञमान पति बज्राचार्यको नेतृत्वमा रहेको वर्तमान कार्यसमितिको पदावधि आजैदेखि समाप्त भएकाले यसै साधारण सभाले नयाँ कार्यसमितिको चयन गर्नेछ । उपाध्यक्ष ७, सचिव १ र सह–कोषाध्यक्ष १ पदका लागि भोलि आइतबार दिउँसो १ बजेदेखि भृकुटीमण्डपस्थित बुद्ध विहारमा मतदान हुने जानकारी महासचिव बज्राचार्यले दिएका छन् ।