पु.समाचार

प्रधानमन्त्री देउवाद्वारा महारानी एलिाबेथको निधनप्रति दुःख व्यक्त

२४ भदौं, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संयुक्त अधिराज्य बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

उनले आज शोक सन्देशमार्फत महारानी एलिजाबेथको निधनको खबरले आफूलाई धेरै दुःख लागेको बताएका छन् । महारानी एलिजाबेथले कर्तव्य, सम्मान र सेवाको साथ आफूलाई प्रतिष्ठित गरेको प्रधानमन्त्री देउवाले सन्देशमा बताएका छन् । महारानी एलिजाबेथले सन् १९६१ र १९८६ मा गर्नुभएको नेपालको महत्वपूर्ण राजकीय भ्रमणका लागि उनलाई नेपालमा मायापूर्वक सम्झिइने शोक सन्देशमा जनाइएको छ ।

बेलायतमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहनुभएकी महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा बिहीबार राति बाल्मोरलमा निधन भएको हो । सन् १९५२ मा गद्दी सम्हाल्नुभएका उनी ७० वर्षसम्म गद्दीनशीन थिए ।