खेलकुद

भारत साफ च्याम्पियनसिपको सेमिफाइनमा

२५ भदौ, काठमाडौं । महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा साविक विजेता भारतले माल्दिभ्सालाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा भारतले माल्दिभ्सलाई ९–० गोलअन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । समूह ‘ए’ मा रहेको भारतको यो लगातार दोस्रो जीत हो । भारतले यसअघि भएको पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेको थियो । सोही समूहबाट बङ्गलादेश पनि सेमिफाइनलमा पुगेको छ । यस समूहबाट माल्दिभ्स र पाकिस्तान भने एक खेल अगावै प्रतियोगिताबाट बाहिरिएका छन् ।

भारतको जीतमा अन्जु तामाङले ह्याट्रिकसहित ४ गोल गरिन् । डाङमेई ग्रेसले थप दुई गोल गरिन् भने प्रियंका देवी, काश्मिना र सौम्या गुगुलोथले एक एक गोल थपे । खेलको २४औँ मिनेटमा अन्जुले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाइन । खेलको ४२ औँ मिनेटमा प्रियंकाले गोल गर्दै भारतलाई २–० को अग्रता दिलाइन् । यसैगरी खेलको पहिलो हाफको अतिरिक्त समयमा अन्जुले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई ३–० को अग्रता दिलाइन् ।

खेलको ५३ औँ मिनेटमा ग्रेसले गोल गर्दा भारतले ४–० को अग्रता बनायो । खेलको ५५ औँ मिनेटमा सौम्याले गोल गर्दै भारतलाई ५–० को अग्रता दिलाइन् । खेलको ८४ औँ मिनेटमा काश्मिनाले गोल गर्दा भारतको अग्रता ६–० को बन्यो । खेलको ८५ औँ मिनेटमा अन्जुले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरिन् । खेलको ८७ औँ मिनेटमा ग्रेसले व्यक्तिगत दोस्रो गोल गर्दै भारतलाई ८–० को अग्रता दिलाइन् । त्यसपछि खेलको ८८औँ मिनेटमा अन्जुले व्यक्तिगत चौँथो गोल गर्दै भारतलाई ९–० को जीत दिलाइन् ।

अब समूह चरणको अन्तिम खेलमा भारत र बङ्गलादेश भिड्ने छन् । सोही खेलबाट समूह विजेता र उपविजेताको टुङ्गो लाग्नेछ ।