राजनीति

नेपाली कांग्रेस केन्द्रीय लेखा समितिका पूर्व सदस्य विजयराज घिमिरेको निधनप्रति नेपाली कांग्रेसद्वारा दुःख व्यक्त

३१ भाद्र, काठमाण्डौ । नेपाली कांग्रेस केन्द्रीय लेखा समितिका पूर्व सदस्य एवं पाल्पाका पूर्व महासमिति सदस्य विजयराज घिमिरेको भाद्र ३० गते राति ८ः१५ बजे ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।

स्वर्गीय घिमिरे २०५६ र २०७४ को आमनिर्वाचनमा पाल्पा जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. १ मा पार्टीको तर्फबाट उम्मेदवार थिए । वि.सं. २०२५ सालमा जन्मिएका स्वर्गीय घिमिरेले नेपाली कांग्रेसको संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका थिए । उनको निधनबाट पार्टीले एक होनाहार युवा नेतृत्वलाई गुमाएको छ । उनको आजै अपरान्ह १ बजे पशुपति आर्यघाट दाहसंस्कार गरिने कार्यक्रम रहेको छ ।
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । साथै, उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।