राजनीति

नेताहरु भन्छन् : संविधान र सङ्घीयता कार्यान्वयनमा ठूलो उपलब्धि हासिल भएको छ

२ असोज, काठमाडौँ । नेपाली जनताको लामो सङ्घर्ष र बलिदानको उपलब्धिका रुपमा प्राप्त लोकतन्त्र, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीता र सघीयतालाई संस्थागत गर्ने विषयमा संविधान जारी भएको आठ वर्षमा ठूलो उपलब्धि हासिल भएको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणापछि भएको निर्वाचनबाट गठित सदनले विभिन्न राजनीतिक उथलपुथलका घटनाकाबीच संविधान अनुकूल बनाउन पर्ने सबै कानुनतर्जुमा गर्दै पूरा अवधि चल्नुलाई पनि उपलब्धिकारुपमा हेरिएको छ ।

नेकपा (एमाले) संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई भन्छन्, “यसबीचमा देखिएका केही अस्थिरता र व्यवधानलाई चिर्दै संसद् कानुन निर्माण गर्दै अघि बढ्न सफल हुनुलाई महत्वपूर्ण उपलब्धिकारुपमा लिन सकिन्छ ।”  उनले संविधानका सात वर्षमा भएका अभ्यास र स्थानीय तहको निर्वाचन परिणामलाई दृष्टिगत गरी राजनीतिक दलले त्यसबाट पाठ सिकेर आगामी दिनमा निष्ठावान्, कामकाजी र ऊर्जावान् उम्मेदवार दिन ध्यान दिन सुझाव दिए ।

नेकपा एमालेसहितका कम्युनिष्ट पार्टीलाई जनताले बहुमतको सरकार निर्माण जनादेश दिएकामा दलभित्रको आन्तरिक झगडाले जनताको सार्वभौम सम्पन्न संसद् दुई पटक विघटन गरिए पनि जनताको दबाब र अदालतको निर्णयबाट पुनःस्थापना भएको थियो ।    

प्रमुख सचेतक भट्टराई भन्छन्, “जनतालाई निराशा बाँडेर होइन, उत्साहित बनाएर जानुपर्छ, भविष्य उज्वल छ, देश निर्माण गर्न सकिन्छ, राजनीति दल र प्रणालीप्रति भरोसा राखेर  विकास र समृद्धिको अभियानमा एकताबद्ध हुनुपर्छ ।” 

पूर्वमन्त्री हृदयेश त्रिपाठीले आवधिक निर्वाचन समयमा हुनु भनेको संविधान र सङ्घीयता कार्यान्वयनको प्रवल पक्ष भएको बताए । उनले भने, “संविधानले उठाएका मुलभूत विषयलाई सम्बोधन गर्न जिम्मेवार राजनीतिक दलले ती मुद्दालाई निर्वाचन घोषणापत्रमा समेटेर अघि बढेमा नतिजा स्वस्थ्य जनक नै आउने छ ।”

नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले मानवअधिकार, सामाजिक न्याय तथा मुलुकको भूपरिवेशका आधारमा वर्तमान संविधानलाई उत्कृष्ट संविधानकारुपमा ग्रहण भएको बताए।

नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले जनतालाई धेरै अधिकार प्रदान गरेको वर्तमान संविधान लोकतन्त्रको संस्थागत विकासका सन्दर्भमा ऐतिहासिक उपलब्धिको दस्तावेज भएको धारणा राखे।

उनले भने, “लोकतन्त्र आफैँमा निर्माण र सुदृढ हुँदै जाने प्रक्रिया हो । केही अवधिसम्म परिपक्क हुन दिनुपर्छ । संविधानले परिकल्पना गरेको समृद्ध, सुखी र सम्मुन्नत समाज निर्माण गर्नु हो । आगामी निर्वाचनले त्यसतर्फ अघि बढ्ने महत्वपूर्ण कार्यदेश दिनेछ ।”

संविधान कार्यान्वयन र कानून निर्माणका हिसाबले सात वर्षको अवधि उपलब्धिमूलक बताउँदै नेता ज्ञवालीले संविधानसँग बाझिएका पुराना कानुनलाई संशोधन मात्र नभई नीति र कार्यक्रमसमेत सर्वसम्मतिले पारितको घटना सुनाए ।

नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले संविधानमाथि सङ्कट र व्यवस्थामाथि चुनौती खडा भएको परिस्थितिमा सदन पूरा कार्यकाल चल्नु भनेको संविधान र लोकतान्त्रिक व्यवस्थाको जग बसेको पुष्ट्याइँ गर्छ भने ।

उनले भने, “यसबीचमा राष्ट्रियता, स्वाधीनता र लोकतन्त्रका विषयमा महत्वपूर्ण काम भएकाले समग्रतामा सफल दिशातर्फउन्मुख छ ।” आठौँ संविधान दिवसका अवसरमा राससका प्रतिनिधिसँग कुराकानी गर्दै लोकतान्त्रिक समाजजादी पार्टीका नेता लक्ष्मणलाल कर्णले भने संविधानलाई सवल र सुदृढ तुल्याउन संशोधन अत्यावश्यक रहेको विचार प्रकट गरे ।

नेपाली जनताको सात दशक लामो सङ्घर्ष र बलिदानको उपलब्धिकारुपमा गठन भएको संविधानसभाद्वारा जारी संविधान विश्वका उत्कृष्ट संविधानको कोटीमा पर्दछ । विसं २०७२ असोज ३ गते जारी संविधानमा भाग ३५, धारा ३०८ र अनुसूची नौ रहेको छ ।