पर्यटन/संस्कृति

बुङ्गमतिमा पर्यटक भित्र्याउने पर्यटन व्यवसायीको प्रतिवद्धता

४ असोज, काठमाण्डौ । पर्यटन व्यवसायीहरुको छाता संगठन नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) का अध्यक्ष रमेश थापाले ललितपुरको बुङ्गमतिलाई पर्यटन प्रवर्द्धनको हिसाबले प्राथमिकतामा राख्ने बताएका छन्।

बुङ्गमतिसँग पर्यटकलाई देखाउने थुप्रै ऐतिहासिक एवं पुरातात्विक संरचनाहरु रहेकाले यो सम्पदा बस्तीलाई प्राथमिकतामा राखिने बताएका छन्। बुङ्गमतिमा पर्यटकहरु आधा दिनको लागि मात्रै आउने गरेको स्मरण गर्दै पर्यटकहरुको बसाई लम्ब्याउन सकिने थुप्रै आधारहरु बनिसकेकाले त्यसतर्फ ध्यान दिएर प्याकेज बनाउन उनले पर्यटन व्यवसायी एवं गाइडहरुलाई अनुरोध पनि गरेका छन्। युरोपिएन युनियनको सहयोगमा स्विच एशिया कार्यक्रम अन्तर्गत युएन ह्याबिट्याट तथा लुमन्तीद्वारा संचालित पर्य(सम्पदा परियोजनाले बुङ्गमतिको पर्यटन प्रवर्द्धनलाई सहयोग पुर्‍याउन सीप विकाससँगै विभिन्न कार्यक्रमहरु गर्दै आएको छ।

सोहि कार्यक्रम अन्तर्गत नाट्टाका सदस्य तथा टुर गाइडहरुलाई बुङ्गमतिको महत्व बुझाउने अभिमुखिकरण कार्यक्रम गरिएको हो। कार्यक्रममा बोल्दै युएन ह्यबिट्याटकी कार्यक्रम प्रबन्धक प्रज्ञा प्रधानले सम्पदा बस्तीहरुको भौतिक पुननिर्माणसँगै आर्थिक पाटोलाई पनि ध्यान दिएर काम गरिरहेको जानकारी दिए। बुङ्गमतिका स्थानीयको आर्थिक पुनर्उत्थानका लागि पर्यटन गतिलो माध्यम बन्ने सक्ने भएकाले विदेशी मात्रै नभएर आन्तरिक पर्यटकका लागि समेत सुहाउँदो प्याकेजहरुको व्यवस्थापन गर्न पर्यटन व्यवसायीहरुसँग आग्रह गरे। यस्तै ललितपुर वडा नम्बर २२ का अध्यक्ष सागर तुलाधरले सबैभन्दा ठूलो वडा भएकाले बुङ्गमतिमा पूर्वाधारहरुको विकासमा अझै धेरै काम गर्न बाँकी रहेको स्वीकार गर्दै पर्यटकलाई देखाउने कुरा धेरै भएकाले यसको प्रवर्द्धन गरेर आफ्नोसँगै स्थानीयको पनि आयवृद्धिमा सहयोगी बनिदिन पर्यटन व्यवसायीहरु समक्ष अनुरोध गरे।

वडाध्यक्ष तुलाधरले नाट्टाका अध्यक्ष थापालाई बुङ्गमतिको पर्यटकीय क्षेत्रबारे जानकारी दिने नक्सा समेत हस्तान्तरण गरेका छन्। कार्यक्रममा युएन ह्याबिट्याटका वरिष्ठ कार्यक्रम अधिकृत प्रविण बज्रचार्यले बुङ्गमतिमा रहेका ऐतिहासिक एवं धार्मिक स्थलबारे कार्यपत्र प्रस्तुत गरेका थिए। यस्तै पर्यटन व्यवसायीलाई दुईजना स्थानीय गाइडले बुङ्गमतिको भ्रमण गराएका थिए। भ्रमणपछि पर्यटन व्यवसायी एवं टुर गाइडहरुले बुङ्गमतिको बजारिकरणमा सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। भिलेज टुर भनेर आधा दिनको प्याकेजहरु पर्यटक समक्ष प्रस्तुत गरिरहेको स्मरण गर्दै उनीहरुले नयाँ ढाँचाले प्याकेजहरु बनाएर बुङ्गमतिमा पर्यटक भित्र्याउने प्रतिबद्धता जनाएका छन्।