पर्यटन/संस्कृति

लेक लाग्ने समस्याको उद्धार तथा प्रतिकार्यका लागि पूर्वाभ्यास

६ असोज, मनाङ । मनाङमा पर्यटक आउने अनुकूल समय भएको छ ।

मनाङ आउने पर्यटकलाई लेक लाग्नुलाई मध्यनजर गरी पूर्वाभ्यास गरिएको छ । इन्द्र दल गुल्मको आयोजनामा जिल्लाका उच्च हिमाली क्षेत्रमा लेक लाग्ने समस्या उत्पन्न हुनसक्ने विषयलाई मध्यनजर गरी उद्धारका लागि सुरक्षा निकायका फौज परिचालन हुनुअघि पूर्वाभ्यास गरिएको हो ।

उद्धारका क्रममा लेक लाग्ने समस्याको व्यवहारिक ज्ञान अभिवृद्धि गराउने उद्देश्यले पूर्वाभ्यास गरिएको गुल्मपति सेनानी दिनेश मल्लले जानकारी दिए । “सुरक्षा निकायका अङ्गहरूको भूमिका स्पष्ट गरी संयुक्तरूपमा कार्य गर्न सहज बनाउनका लागि गुल्मको हाताभित्र मैदानमा पूर्वाभ्यास गरिएको हो”, उनले भने ।

जिल्लामा पर्यटक भित्रिने समय भएकाले सबैको स्वास्थ्यले उच्च मौसमको अनुकूलतालाई ग्रहण गर्न नसक्ने समस्या समाधानलाई सहज बनाउने प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले बताए । पूर्वाभ्यासले प्रतिकार्यको समयमा सहजता कायम गर्ने उनको विश्वास छ ।

सदरमुकाम चामेस्थित सशस्त्र प्रहरी बल, नेपालका १५ र नेपाल प्रहरीका १० जनालाई हाइ अल्टिट्युड रिसर्च एण्ड रेस्क्यु अनार्मड कम्ब्याट, ¥यापलिङ्ग, विपद् व्यवस्थापन सामग्रीबारे ज्ञान प्रदान तथा विपद् प्रतिकार्य तथा विपद्प्रभावितहरूको उद्धार तथा प्राथमिक उपचारसम्बन्धी अभ्यास गरिएको गुल्मपति मल्ले बताए ।

सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको टोलीसँग संयुक्तरूपमा लेक लागेको खोज र उद्धार तथा विपद् प्रतिकार्यसम्बन्धी अभ्याससमेत गरिएको उनले बताए । संयुक्तरूपमा सञ्चालन गरिएको उक्त अभ्यासले जिल्लास्थित सुरक्षा निकायका अङ्गहरू परिचालनको समयमा एकापसमा समन्वय हुनुका साथै आ–आफ्नो भूमिकाबारे स्पष्ट भई कार्यमा सहजता भएर छिटो–छरितोरूपमा कार्यसम्पादन गर्न सकिने बताइएको छ ।