अन्तर्राष्ट्रिय

सङ्ख्या बढ्दै जाँदा फिनल्याण्डले रूसीहरूको प्रवेशमा नियन्त्रण गर्ने

७ अससोज, हेलसिन्की । मस्कोले युक्रेन युद्धका लागि आंशिक सैनिक परिचालनको घोषणा गरेदेखि फिनल्याण्ड प्रवेश गर्ने रूसी नागरिकको सङ्ख्यामा दोब्बर वृद्धि भएको सीमा निकायका प्रवक्ताले शुक्रबार एएफपीलाई बताएका छन् ।

“बिहीबार छ हजार ४७० जना रूसी नागरिक फिनल्यान्ड पुगेका छन्,” प्रवक्ताले एएफपीसँग भने ।

उनले भने, “यो साताको सुरुमा तीन हजार १०० रूसी नागरिक फिनल्याण्ड पुगेका थिए । यद्यपि, यो सङ्ख्या कोभिड–१९ महामारी अघिको भन्दा कम हो ।”

वालिमा सीमा पार अनुगमनका लागि खटिएका सुरक्षा उपप्रमुख एलियास लाइनलले बिहीबार एएफपीसँग भने, “सन् २०१९ मा जति भीड थियो अहिले त्यसको करिब ७० प्रतिशतको हाराहारीमा सीमानामा भीड हुने गरेको छ ।” उनले शुक्रबारको संख्यामा ‘सामान्य वृद्धि’ भएको सङ्केत गरे पनि कुनै ठूलो परिवर्तन नभएको बताए ।

प्रधानमन्त्री सान्ना मरिनले भने, “फिनल्याण्डको माध्यमबाट ट्रान्जिट सहित रूसी पर्यटन र यात्रालाई रोक्नु पर्दछ ।” मरिनले मस्कोले परिचालनको घोषणा गरेपछि रूसी यात्रुले निम्त्याएको सुरक्षा जोखिमको ‘पुनः मूल्याङ्कन’ गर्नुपर्ने बताएका छन् ।

“अन्य देशहरू, उदाहरणका लागि बाल्टिक देशहरू, पोल्याण्डले मानिसहरूलाई आउनबाट रोक्नका लागि यो सुरक्षा जोखिमलाई तर्कको रूपमा प्रयोग गरेका छन्,” उनले भने । “फिनल्याण्डले आफ्नै मूल्याङ्कन गर्न आवश्यक छ ।

नर्डिक राष्ट्रले सेप्टेम्बरमा रूसीहरूका लागि पर्यटक भिसामा भारी कटौती गरेको थियो, तर उनीहरूले सेन्जेन सीमारहित यात्रा क्षेत्रमा अन्य ईयू देशहरूले जारी गरेको भिसाको साथ फिनल्याण्डमा प्रवेश गर्न जारी राखेका थिए ।