अन्तर्राष्ट्रिय

पश्चिम एसियामा अमेरिका र नेटोको उपस्थिति सङ्कटको कारणः इरानी राष्ट्रपति

७ असोज, तेहरान । इरानी राष्ट्रपति इब्राहिम राईसीले (पश्चिम एसिया)क्षेत्रमा संयुक्त राज्य अमेरिका र उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) को उपस्थितिको नतिजाको रूपमा विनाश, कब्जा र नरसंहारू भएको बताएका छन् । राष्ट्रपतिको कार्यालयको वेबसाइटमा शुक्रबार सो कुरा उल्लेख गरिएको छ ।
बिहीबार न्युयोर्कमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँगको राष्ट्र सङ्घको ७७औँ महासभाको बैठकको अवसरमा भएको भेटमा राईसीले सो कुरा बताएका हुन् ।
इरानले ठूलो सङ्ख्यामा अफगान शरणार्थी लिएको छ र आतङ्कवादको विरुद्ध गम्भीर रूपमा लडेको छ । आतङ्कवाद यस क्षेत्र र सम्पूर्ण विश्वका लागि ठूलो खतरा हो उनले भने । उनले यस क्षेत्रमा जारी सङ्कटको समाधान विदेशी हस्तक्षेप विना राष्ट्रिय सहमतिमा गर्नुपर्नेमा जोड दिएका छन्।
उनले संयुक्त राष्ट्र संघलाई केही राज्यहरूको एकपक्षीय दृष्टिकोण र नीतिहरूको सामना गर्न थप“गम्भीर भूमिका“खेल्न समेत आग्रह गरेका छन्।
राष्ट्रका समस्या समाधान गर्न र आन्तरिक मामिलामा विदेशी शक्तिको हस्तक्षेप रोक्न राष्ट्रसङ्घको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै राईसीले संयुक्त राष्ट्रसङ्घ ठूला शक्तिका लागि मात्रै नभई सबै राष्ट्रका लागि साँच्चैको अभिभावक संस्था हुनुपर्नेमा जोड दिएका छन् ।