पर्यटन/संस्कृति

पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्दै बरेङ

८ असोज, बागलुङ । बागलुङको बरेङ गाउँपालिकामा थुप्रै धार्मिक तथा पर्यटकीय क्षत्रे छन् ।

कतिपय गन्तव्य अहिले निकै चर्चामा छन् त कतिपय ओझेलमै रहेका छन् । पूर्वाधार विकास तथा प्रचारप्रसारको अभावमा ओझेलिएका गन्तव्यको गाउँपालिकाले प्रवद्र्धन गर्न थालेको छ । पर्यटकीय क्षेत्रको प्रवद्र्धनका लागि गाउँपालिकाले पूर्वाधार निर्माण र प्रचारप्रसारलाई जोड दिएको हो ।

पर्यटक आकर्षण गर्न पुरानासँगै नयाँ गन्तव्यको खोजी र प्रचारप्रसारमा लागेको गाउँपालिकाका अध्यक्ष कृषप्रसाद शर्माले जानकारी दिए। अध्यक्ष शर्माले अघिल्ला वर्षमा धेरै गन्तव्यमा पूर्वाधार निर्माण गरेर आगन्तुकलाई भित्र्याउन थालेको भन्दै यस पटक वडा नं ४ मा रहेका छहरे खोलाझरना र भैँसेखोलाझरनाको विकासमा जुटेको बताए ।

उनले यहाँसम्म पुग्ने पदमार्ग, मन्दिर र प्रतीक्षालय निर्माण गर्न थालिएको भन्दै यी दुई झरनाको विकासका लागि यस वर्ष गाउँपालिकाले १० लाख रुपैयाँ विनियोजन गरेर काम अगाडि बढाएको बताए । गत वर्ष झरना प्रवद्र्धनलाई १० लाख विनियोजन गरेको अध्यक्ष शर्माले बताए ।

“बरेङको पर्यटन विकासका लागि हामीले सुरुको कार्यकालदेखि नै काम गर्दै आएका थियौँ, अघिल्लो कार्यकालमा कौडेको धुरी, सत्यवती मन्दिर लगायतका धार्मिक पर्यटकीय क्षेत्रको प्रचारप्रसार र पूर्वाधार निर्माण ग¥यौँ, अहिले ती गन्तव्यमा आन्तरिक पर्यटक आउन थालेका छन्”, अध्यक्ष शर्माले भने, “गत वर्षदेखि नयाँ गन्तव्यको पहिचान गर्ने र प्रवद्र्धन गर्ने हिसाबले लागेका छौँ ।”

पर्यटनमार्फत बरेङमा समृद्धि हासिल गर्न सकिने हुँदा यस क्षेत्रको विकासलाई जोड दिएको अध्यक्ष शर्माको भनाइ छ । गाउँपालिकाभित्रका सत्यवती मन्दिर, कालीलेक, सिद्धथानमन्दिर, कौडे लेक, छहरेखोला, भैँसीखोलाझरना, भित्रिवन, भातेपोखरा लगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रमा रहेक वर्ष बजेट विनियोजन गरेर पूर्वाधार विकास गर्दै आएको उनको भनाइ छ । 

उनले कौडेको धुरी, सत्यवती मन्दिरमा पूर्वाधार निर्माण गरिसकेको भन्दै प्रचारप्रसारलाई बढी जोड दिएको बताए । गाउँपालिकाले धार्मिक पर्यटकीयस्थलको विकाससँगै कला संस्कृतिको समेत संरक्षणमा जुटेको छ । बरेङ गाउँपालिकामा विभिन्न जातजातिको सङ्गमस्थल भएको भन्दै उनीहरुको रीतिरिवाज, परम्परा र संस्कृतिको संरक्षणका लागि आफूहरु लागेको उनले बताए । गाउँपालिकाले मौलिककला संस्कृति, वेशभूषा र परम्परालाई संरक्षणका लागि यस वर्ष दुई लाख ५० हजार रुपैयाँ विनियोजन गरेको उनको भनाइ छ ।