पर्यटन/संस्कृति

गोपालेश्वरको यात्रा गर्ने मूर्तिलाई सारियो देवता घर (आगमछेँ)मा

११ असोज, काठमाण्डौ । नेपालमै सबैभन्दा ठूलो खट बोकिने दक्षिणकाली नगरपालिकाको फर्पिङमा परापूर्वकालदेखि मनाइने हरिशङ्कर यात्रा सम्पन्न भएको छ ।

भाद्र शुक्ल पूर्णिमादेखि १६ दिनसम्म फर्पिङ क्षेत्रका पुरातात्विक, सांस्कृतिक एवं धार्मिक दृष्टिले महत्वपूर्ण स्थानमा खट यात्रा गरी मनाइने हरिशङ्कर जात्रा आश्विन शुक्ल प्रतिपदामा समापन गर्ने परम्परा छ । यात्राको समाप्ति सोमबार गोपालेश्वरको यात्रा गर्ने मूर्तिलाई मन्दिरबाट देवताको घर (आगमछेँ) मा ल्याएर राखेपछि हरिशङ्कर यात्रा सम्पन्न भएको जात्रा व्यवस्थापन समितिका संयोजक सुरेन्द्र मानन्धरले राससलाई जानकारी दिए ।

जात्राको मुख्य खट घुमाउने कार्यक्रम भने आश्विन कृष्ण एकादशीका दिन गरिएको थियो । यो यात्रामा शिखरनारायणलाई हरि र गोपालेश्वरलाई शङ्करका रुपमा मानिन्छ । फर्पिङवासीका अनुसार यहाँको हरिशङ्कर यात्रा एवं भक्तपुरको बिस्केट जात्राका विषयमा मृत्युपश्चात् यमराजले पनि प्रश्न गर्छन् भन्ने विश्वास लिइन्छ । यसैले यी दुवै यात्रा हेर्नै पर्ने मान्यता पनि यहाँ छ ।

भाद्र शुक्ल पूर्णिमाका दिन विधिवत् सुरु गरिने जात्राको विधिविधान भने भाद्र शुक्ल प्रतिपदाकै दिनदेखि सुरु हुने गरेको छ । यात्रामा शिखरेश्वर, गोपालेश्वर, नन्दिकेश्वर, अघोरेश्वर, कनकेश्वर, तिलविक्रमेश्वर र सिद्धिगणेश्वरका सात वटा खट बोकिन्छ । सबै खटमा सम्बद्ध देवताका मुखलिङ्ग शैलीका मूर्ति स्थापना गरिएको हुन्छ । यो यात्रामा बोकिने खट नेपालका खटयात्रामध्येमा सबैभन्दा ठूला हुने गरेको छ । यो यात्राको एउटा खट बोक्न कम्तीमा पनि ५० जना मानिस चाहिन्छ ।

हरिवंश पुराणमा विष्णु र शिवलाई एउटैस्वरुप मानिएकाले यो यात्रा चलाउने गरिएको यहाँका वृद्ध बताउँछन् । फर्पिङको हरिशङ्कर यात्रा वाणासुरका पालादेखि सुरु भएको विश्वास गरिन्छ । वाणासुरले चलाएको यात्रा भएकाले यसमा आर्य र अनार्यबीचको समन्वयसमेत रहेको स्थानीयवासीको भनाइ छ । जात्राका माध्यमबाट यस क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धन गर्ने गरी प्रचारप्रसार गर्न लागिएको नगरपालिकाका उपप्रमुख वसन्ती डङ्गोल तामाङले बताए ।