स्वास्थ्य

डा.शर्माले एकैदिन तीन ठाउँमा सञ्चालन गराए निःशुल्क स्वास्थ्य शिविर

११ असोज, मोरङ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक डा.सुनिल शर्माले सोमबार मोरङको क्षेत्र नं.३ का तीन स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गराएका छन् ।

डा.शर्माले नोबेल अस्पतालमार्फत बेलबारी, सुन्दरहरैंचा र पथरीशनिश्चरेमा शिविर सञ्चालन गराएका हुन् ।

   तीन वटै शिविरबाट ५८० जना विरामीको निःशुल्क उपचार गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ । बेलबारी नगरपालिका वडा नं. २ मा सञ्चालित शिविरमा नोबेल अस्पतालका छाती तथा फोक्सो रोग बिशेषज्ञ प्रा.डा.रामहरी घिमिरे र स्त्रीरोग बिशेषज्ञ प्रा.डा.सिता घिमिरे नेतृत्वको डाक्टरहरुको टोलीले २१३ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । शिविरमा ८३ जनाको इसीजी, १०१ जनाको रक्त परीक्षण र ९८ जनाको भिडियो एक्सरे गरिएको छ ।

   त्यस्तै, ज्येष्ठ नागरिकहरुलाई लक्षित गरेर सुन्दरहरैंचा वडा नं.१० मा शिविर सञ्चालन गरिएको छ । शिविरमा १४० जनाको स्वास्थ्य परीक्षण गरिएको छ । जसमध्ये ९६ जनाको मुटुको जाँच इको गरिएको छ । शिविरमा नोबेलका मुटुरोग बिशेषज्ञ प्रा.डा.राजेश नेपालसहितको डाक्टरहरुको टोलीले विरामीको जाँच गरेको थियो ।

   यता, पथरीशनिश्चरे वडा नं.७ मा सञ्चालित शिविरमा २२७ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । शिविरमा स्त्रीरोग बिशेषज्ञ डा.मिलुना भुसाल नेतृत्वको डाक्टरहरुको टोलीले ६३ जनाको इसीजी, ११३ जनाको रक्त परीक्षण र ८५ जनाको भिडियो एक्सरे गरेको नोबेल अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिए ।

   तीन वटै शिविरबाट थप उपचारका लागि १३४ जना विरामीलाई नोबेल अस्पताल रेफर गरिएको छ । उनीहरुलाई नोबेलकै गाडीमा अस्पताल लगेर उपचार गरी घर फर्काउँने व्यवस्था मिलाइएको छ । डा.शर्माले नै यो सुविधा उपलब्ध गराएका हुन् । डा.शर्माले यो क्षेत्रमा बर्षौ अघिदेखि नियमित निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर त्यहाँका जनतालाई स्वास्थ्य उपचारमा ठूलो सहयोग पुर्याउँदै आएका छन् । सामाजिक काममा सक्रिय डा.शर्मालाई अहिले नेपाली कांग्रेस मोरङ क्षेत्र नं. ३ ले आसन्न प्रतिनिधि सभा निर्वाचनमा उम्मेद्वारका लागि सिफारिससमेत गरेको छ ।