पर्यटन/संस्कृति

दसैँमा दुर्गा मूर्तिले ल्याएको उमङ्ग

१८ असोज, राँझा । बडादसैँको आगमनसँगै पश्चिम नेपालको ऐतिहासिक सहर नेपालगञ्ज दुर्गा मूर्तिले झकिझकाउ भएको छ ।

नेपालगञ्जमा मूर्ति नभएको कुनै चोक र गल्ली छैन । एउटै टोलमा दुई–तीनवटा मूर्ति स्थापना गरिएका छन् ।

सहरका चोक–चोकमा स्थापना गरिएका दुर्गा मूर्तिमा प्रत्येक दिन विहानैदेखि रातिसम्म गरिने पूजा आजा र भजन कीर्तनले दसैँको उमङ्ग ल्याएको छ । केही वर्ष पहिलासम्म सहरबजारमा मात्र देखिने दूर्गा मूर्ति अहिले गाउँ–गाउँसम्म सजाइएका छन् । दसैँको बेला माटो आदिबाट बनाइएका दुर्गा भगवतीको मूर्ति सजाएर पूजा गर्ने चलन बढेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष नन्दलाल वैश्यले बताए ।

दुर्गा मूर्तिमा घटस्थापनाको दिनदेखि राति अवेरसम्म जाग्राम बसेर देवी दुर्गा भगवतीको पूजा आराधना गर्ने गरिएको छ । दुर्गा मूर्ति स्थापना भएपछि मात्रै दसैँको उमङ्ग सुरु हुने गर्दछ । घटस्थापनाका दिन दुर्गा भगवतीको मूर्ति स्थापना गरेर सप्तमीमा उनको आँखाबाट पट्टी खोल्ने काम हुन्छ । महिषासुरलाई सप्तमीको दिन दुर्गा भवानीले मारेको हुनाले सो दिन मूर्तिको आँखा खोल्ने परम्परा छ । नेपालगञ्जमा दसैँको भोलिपल्ट एकादशीको दिन दुर्गा भवानीको मूर्तिलाई राप्ती नदीमा लगेर विसर्जन गरिन्छ ।

नेपालगञ्जसँगै नरैनापुर, डुडुवा, खजुरा, कोहलपुरका विभिन्न गाउँमा दुर्गापूजाको रौनकता छाएको छ । एकाबिहानैदेखि अबेर रातसम्म भजन, कीर्तन हुने गरेको छ । घटस्थापनाका दिन दुर्गा भवानीको मूर्ति स्थापना गरेदेखि यहाँका गल्ली, चोक, मन्दिर, चौराह भजन, कीर्तनमय भएको नेपालगञ्ज उपमहानगरपालिका–९ का अध्यक्ष गोविन्द रेग्मीले बताए ।

दुर्गा मूर्तिको स्थापनासँगै राति अवेरसम्म पनि नेपालगञ्जवासी बजारका चोक–चोकमा घुमिरहने रामलीला हेर्ने परम्परा जस्तै भएको उनको भनाइ छ । बाँकेका गल्ली, चोक, चौराह र मन्दिरमा करिब चार सयको हाराहारीमा दुर्गामूर्ति स्थापना गरिएको अनुमान छ । दुर्गा मूर्तिमा बालबालिकादेखि वृद्धवृद्धासम्म पूजा–आजा र भजन कीर्तनका लागि पुग्छन् ।

नेपालगञ्जका मुख्य सडक, चोक र गल्लीसमेतमा दुर्गामूर्ति स्थापना गरी पूजापाठ भइरहेको छ । नेपालगञ्जका गल्ली–गल्लीमा स्थापना गरिएका मूर्तिको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले बताए । रातको समयमा मूर्तिमाथि केही हुन सक्ने खतरालाई मध्यनजर गरी सुरक्षाकर्मी परिचालन गरिएको उनको भनाइ छ ।