अन्तर्राष्ट्रिय

हैटीमा हैजाका कारण मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने विश्व स्वास्थ्य सङ्गठनको चेतावनी

१८ असोज, जेनेभा । हैटीमा हैजाको प्रकोपका कारण मृत्यु हुनेको सङ्ख्या जानकारीमा आएकोभन्दा निकै बढी हुनसक्ने अधिकारीहरूले बताएका छन् ।

हैटीमा हैजाको प्रकोपका कारण मृत्यु हुनेको सङ्ख्या रिपोर्ट गरिएको भन्दा ‘अत्यधिक बढी’ हुन सक्ने र सङ्क्रमितको अवस्था थप बढ्न सक्ने अनुमान गरिएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले मङ्गलबार चेतावनी दिएको छ ।

संकटग्रस्त क्यारेबियन राष्ट्रमा हैजाका कारण कम्तीमा सात जनाको मृत्यु भएको आइतबार जनाइएको थियो । हैटीमा हैजाको महामारीको पछिल्लो पटक पुष्टि भएको करिब तीन वर्षपछि पुनः महामारीको पुनः उत्थान हुने आशङ्का बढेको छ ।

राजधानी पोर्ट–ओ–प्रिन्सको किनारामा रहेको क्यारेफोर–फ्युइल्स र तटीय क्षेत्र साइट सोलेइलमा थुप्रै शंकास्पद सङ्क्रमित फेला परेका डब्ल्यूएचओले जनाएको छ ।

यी क्षेत्रहरू पूर्णतया लडाकू गुट तथा समूहहरूद्वारा नियन्त्रित छन् र जुलाईको अन्त्यदेखि स्वास्थ्य अधिकारीहरूलाई यस क्षेत्रको पहुँचमा धेरै गाह्रो भएको छ ।

हैटीमा हालैका हप्ताहरूमा नाकाबन्दी, इन्धनको अभाव, विरोध प्रदर्शन, लुटपाट र आम हडतालका कारण स्थिति बिग्रिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका प्रवक्ता क्रिश्चियन लिन्डमेयरले जेनेभामा पत्रकारहरूसँग भने, “यो अवस्थाले मानवीय प्रतिक्रियालाई निकै जटिल बनाएको छ ।”

“स्थिति द्रूत गतिमा विकसित भइरहेको छ, र पहिलेका सङ्क्रमित पत्ता नलागेको हुनसक्ने सम्भावनालाई नकार्न सकिन्न ।

उनले मृतकको सङ्ख्या अझै धेरै हुन सक्ने बताए ।

उनले भने, “मानवीय अवस्था, सरसफाईको स्थिति, र गिरोह–नियन्त्रित क्षेत्रहरूमा सङ्क्रमित सङ्ख्या उच्च रहेको हुनसक्ने र बढ्ने अपेक्षा गर्नुपर्दछ । लडाकू समूहको नियन्त्रण भएका क्षेत्र नियन्त्रण गर्न, परीक्षण गर्न वा सहयोग ल्याउनको लागि हामीलाई कुनै पहुँच छैन । लिन्डमेयरले मुखबाट दिइने हैजाको खोप खरिदका लागि अन्तर्राष्ट्रिय समन्वय समूहमा निवेदन दिने तयारी भइरहेको बताए ।

यद्यपि, विश्वव्यापी खोपको उपलब्धता सीमित छ र मागले आपूर्तिलाई उछिनेको छ ।