अन्तर्राष्ट्रिय

थाइल्याण्डमा बन्दुकधारीको आक्रमणबाट कम्तीमा ३५ जनाको मृत्यु

२० असोज, बैंकक । थाइल्यान्डको एक नर्सरीमा बिहीबार एक पूर्व प्रहरी अधिकारीले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा ३५ जनाको मृत्यु भएको छ ।

आक्रमणपछि बन्दुकधारी पान्या खामराबले घर गएर श्रीमती र बच्चाको हत्या गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

बन्दूक, पेस्तोल र चक्कुसहित आएका खामराबले उत्तरपूर्वी नोङ बुआ लाम फु प्रान्तको बालस्याहार केन्द्रमा स्थानीय समयअनुसार राति १२ः३० बजे गोली चलाएको थिए ।

आक्रमण भएको प्रान्तका प्रहरी कर्णेल जक्कापत विजितराइथायाले एएफपीलाई दिएको जानकारीअनुसार बन्दुकधारीले २३ बालबालिकासहित ३५ जनाको हत्या गर्नुका साथै अन्य १२ जना घाइते भएका छन् ।

३४ वर्षीय पूर्व प्रहरी लेफ्टिनेन्ट कर्नेललाई गत वर्ष लागूऔषधको प्रयोगगरेको आरोपमा बर्खास्त गरिएको विजितरायथैयाले बताए ।

स्थानीय पवीना पुरीचनका अनुसार मोटरसाइकल चढेर आफ्नो पसलतर्फ जाँदै गर्दा पान्यालाई अनियमित रुपमा गाडी चलाउँदै गरेको भेटिएको थियो ।

उनले एएफपीसँग भने, “आक्रमणकारीले बाटोमा अरूलाई ठक्कर दिने योजना बनाएको जस्तो देखिन्थ्यो ।”

पावीनाका अनुसार आक्रमणकारी उक्त क्षेत्रमा लागूऔषध दुब्र्यसनीका रुपमा परिचित थिए ।

घटनापछिको भिडियो फुटेजमा बगैँचामा रहेको पहेँलो पर्खालले घेरिएको एकतले भवन नर्सरीबाहिरको आश्रयस्थलमा आमाबाबु रोइरहेको देखिएको छ ।

थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चाले राष्ट्रिय प्रहरी प्रमुखलाई ‘अनुसन्धानलाई तीव्र गतिमा अघि बढाउन’ निर्देशन दिएको बताएका छन् ।

“यो डरलाग्दो घटनाप्रति म मृतक र घाइतेका परिवारप्रति गहिरो दुःख र समवेदना व्यक्त गर्न चाहन्छु, ।” प्रयुतले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेका छन् ।

थाइल्याण्ड लामो समयदेखि लागूपदार्थको तस्करी र दुरुपयोगको लागि कुख्यात हटस्पट बनेको छ ।