अन्तर्राष्ट्रिय

मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्न आग्रह

२५ असोज, संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटरेसले मानसिक स्वास्थ्यलाई विश्वव्यापी प्राथमिकतामा विषय बनाउन आग्रह गरेका छन् । उनले मानसिक स्वास्थ्यको उपचार एवम यसको रोकथामका लागि आवश्यक कार्यक्रमहरु निर्माण गरी प्राथमिकताका साथ काम गर्न संयुक्त राष्ट्रसङ्घका सबै सदस्य राष्ट्रहरुलाई आग्रह गरेका हुन् ।

अक्टोबर १० मा मनाइने विश्व मानसिक स्वास्थ्य दिवसका अवसरमा उनले सो सन्देश दिएका हुन् । उनले विश्वमा हाल मानसिक स्वास्थ्यको समस्या दिन प्रतिदिन बढ्दै गएको अवस्थामा यसको रोकथम तथा नियन्त्रणका लागि प्राथमिकता भने कमै मात्र निर्धारण हुने गरेको बताए ।

एक तथ्याङ्कअनुसार हाल विश्वमा करिब एक अर्ब मानिस कुनै न कुनै प्रकारको मानसिक स्वास्थ्यको समस्यामा बाँचिरहेको बताइएको छ । विश्वमा मानसिक रोग भएका व्यक्तिहरुको सङ्ख्या बढ्दै गएपनि उनीहरुका समस्या बुझ्ने र उपचार गर्ने मानिसहरुको भने पर्याप्त उपलब्धता नरहेको पाइएको छ ।

संयुक्त राष्ट्रसङ्घकै एक तथ्याङ्कअनुसार हाल विश्वका कतिपय देशमा त मानसिक रोग भएका व्यक्तिहरुको उपचार तथा परामर्शका लागि प्रति एक लाख दुई जनामात्र चिकित्सक एवं स्वास्थ्यकर्मी उपलब्ध भएका देखिएका छन् ।

त्यसैले यसको उपचारका लागि आवश्यक जनशक्ति र पूर्वाधारको विकासका क्षेत्रमा आवश्यक कार्ययोजना बनाएर अघि बढ्न संयुक्त राष्ट्रसङ्घीय महासचिव गुटरेसले विश्वका देशहरुलाई आग्रह गरेका छन् ।