अन्तर्राष्ट्रिय

प्यालेस्टिनी शरणार्थीका लागि तत्काल एक करोड ३० लाख डलर आवश्यक : राष्ट्रसङ्घ

४ कात्तिक, बेरुत । प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्रसङ्घीय निकाय (युएनआरडब्लुए) ले लेबनानमा रहेका प्यालेस्टिनीहरूलाई सहयोग गर्न एक करोड ३० लाख अमेरिकी डलर सहयोग गर्न शुक्रबार अपिल गरेको छ ।

यूएनआरडब्लुएका प्रमुख फिलिप लाजारिनीले भने, “प्यालेस्टिनी शरणार्थीहरू, भीडभाड भएका शिविरहरूमा बसिरहेका छन् । लेबनानमा रहेका लगभग सबै प्यालेस्टिनी शरणार्थी गरिबीमा बाँचिरहेका छन् ।”

उनले युएनआरडब्लुएले परिवारलाई नगद सहयोग, प्राथमिक स्वास्थ्य सेवा र एजेन्सीका विद्यालयहरू यस वर्षको अन्त्यसम्म चलाउन ‘तत्काल एक करोड ३० लाख अमेरिकी डलर’ को लागि अपिल गरिरहेको बताए ।

उनले भने, “लेबनानमा रहेका प्यालेस्टिनी शरणार्थीहरू ‘प्राय: खाद्यान्नको अभावबीच बाँच्नु परेको हुन्छ । हाम्रो सहयोग निराशाको सागरमा एक थोपा पानी हो ।” विगत तीन वर्षदेखि लेबनान विश्व इतिहासकै सबैभन्दा खराब आर्थिक सङ्कटको चपेटामा परेको विश्व बैंकले जनाएको छ ।

लाजारिनीले भने, “गरिबीको अभूतपूर्व स्तर, बढ्दो बेरोजगारी दर र बढ्दो निराशाले लेबनानी जनता र सिरियाली तथा प्यालेस्टाइनी शरणार्थीलाई गम्भीर रूपमा प्रभाव पारेको छ ।” यूएनआरडब्लुएका अनुसार लेबनानमा करिब दुई लाख १० हजार प्यालेस्टिनी शरणार्थी छन्, जसमध्ये ३० हजार सन् २०११ मा युद्ध सुरु भएपछि सिरियाबाट भागेका थिए ।
त्यहाँ १० लाखभन्दा बढी सिरियाली शरणार्थी पनि रहेका छन् ।

अधिकांश प्यालेस्टिनीहरू लेबनानको आर्थिक मन्दीका कारण बिग्रिएको १२ वटा आधिकारिक शरणार्थी शिविरहरूमा बस्छन् र उनीहरूको रोजगारीलगायत विभिन्न कानुनी प्रतिबन्धहरूको सामना गर्छन् ।

संयुक्त राष्ट्रसङ्घीय निकायका अनुसार लेबनानमा रहेका प्यालेस्टाइनी शरणार्थीमध्ये ९३ प्रतिशत गरिब छन् । यो अवस्थाले सयौंलाई युरोप पुग्ने आशामा खतरनाक समुद्री यात्रा गर्न बाध्य बनाएको छ।

लेबनानको उत्तरी भागबाट आएको आप्रवासी डुङ्गा छिमेकी मुलुक सिरियाको पूर्वी भूमध्यसागरीय क्षेत्रमा डुबेको हालैको एक घटनामा १०० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ ।

बेरुतको मार एलियास प्यालेस्टाइनी शरणार्थी शिविरमा बस्ने इमान नाम गरेकी तीन सन्तानकी आमाले भनिन्, “गरिबीका कारण मर्नु भनेको समुद्रमा मर्नुभन्दा धेरै फरक हुँदैन ।”

लेबनानको जनजीवन असह्य भएको युएनआरडब्लुएले बताएको छ ।