अन्तर्राष्ट्रिय

इटालीका प्रथम महिला प्रधानमन्त्रीलाई इयु प्रमुखको बधाई

५ कात्तिक, ब्रसेल्स । युरोपेली आयोगका प्रमुख उर्सुला भोन लेयनले दक्षिणपन्थी नेत्री जर्जिया मेलोनी इटालीको प्रथम महिला प्रधानमन्त्री बनेकामा बधाई ज्ञापन गरेका छन् ।

साथै उनले नवनियुक्त प्रधानमन्त्रीसँग सहकार्य एवम् रचनात्मक सहयोगका निम्ति तत्पर रहेको बताएका छन् ।
“जर्जिया मेलोनीलाई इटालीको प्रधानमन्त्रीको रूपमा नियुक्ति भएकामा बधाई छ, यो पद सम्हाल्ने उहाँ पहिलो महिला हुनुहुन्छ,” भोन डर लेयनले ट्वीटमा भनेका छन् । युरोपका चुनौती सामनाका निम्ति नयाँ सरकारसँग मिलेर काम गर्न आफू सधै तत्पर रहने पनि उनले बताएका छन् ।

त्यसैगरी, युरोपेली संसद्का अध्यक्ष रोबर्टा मेत्सोलाले युरोपलाई इटाली चाहिने बताउँदै नवनियुक्त प्रधानमन्त्रीप्रति बधाई ज्ञापन गरेका छन् । युरोपेली सङ्घको सदस्य इटाली युरोपको तेस्रो ठूलो अर्थतन्त्र भएको मुलुक हो । शुक्रबार पार्टीका ४५ वर्षीय नेत्री मेलोनी इटालीको प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।