सुबिन विश्वकर्मा/चक्रघट्टी/ आसन्न मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको लागि सुनसरी-४ बाट सत्ता गठबन्धनका साझा उमेदवार बनेका ज्ञानेन्द्रबहादुर कार्की यतिबेला चुनावी दौडाहामा छन् । नेपाल सरकारका वर्तमान सूचना, सञ्चार तथा प्रबिधिमन्त्री समेत रहेका कांग्रेस नेता कार्की अघिल्लो निर्वाचनमा यसै क्षेत्रबाट विजयी भएका थिए । भोजपुरमा पटकपटक पराजित भएपछि सुनसरी झरेका कार्की यसअघि भारी मतान्तरले विजयी भए । कार्कीले ३२ हजार ३४७ मत प्राप्त गर्दा तत्कालीन वाम गठबन्धनका एमाले उम्मेदवार रमेश श्रेष्ठले २५ हजार ७५० मत मात्रै पाएका थिए । तत्कालीन अवस्थामा चुनाव हुँदा कार्की बहालवाला अर्थमन्त्री रहेका थिए र, सहज जीत निकालेको अबस्था थियो । यद्यपि यसपटक भने उनलाई उति सहज स्थिति देखिंदैन ।
सुनसरी ४ आफैमा गर्विलो इतिहास बोकेको क्षेत्र हो । बिपी कोइरालाले संगठन गरेर कांग्रेसलाई मलिलो बनाइदिएको यस् क्षेत्रमा गिरिजाप्रसाद कोइरालाले चुनाव लडे । चुनाव जितेर गएका नेता कोइराला देशको प्रधानमन्त्री बने । त्यस्तै यसै क्षेत्रबाट उपेन्द्र यादब उपप्रधानमन्त्री बन्न सफल भएभने ज्ञानेन्द्रबहादुर कार्कीले विभिन्न मन्त्रालयको जिम्मेवारी पाइसकेका छन् । तर यहाँ जनचाहना र आवश्यकताअनुरुपको काम भने भएको छैन भन्दा फरक नपर्ला । विकासका पूर्वाधार, त्यसमा पनि सडक सञ्जालमा केही उल्लेख प्रगति भएपनि अन्य महत्त्वपूर्ण आवश्यकता परिपूर्ति नभएको जनगुनासो सुनिन्छ ।
यहाँका बासिन्दाहरूको वर्षौंदेखि दुख्दै आएको कोसीकटान तथा बाढीको समस्या आजसम्म पनि ज्युँका त्युँ छ । कोशीटप्पु वन्यजन्तु आरक्षण क्षेत्र आसपासमा जंगली जनावरबाट हुँदै आएको क्षति न्यूनीकरण गर्ने प्रत्येक उमेदवारहरूको चुनावी एजेन्डा त हुन्छ नै तर परिणाम भने उस्तोधेरै छैन । मधेसी समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा उनीहरूको शैक्षिक, आर्थिक तथा सांस्कृतिक पक्षहरूको अबस्था माथी उठ्न सकेको छैन । अझ रोचक कुरा त के भने यसअघि चुनाव जितेर गएका उनै ज्ञानेन्द्रबहादुर कार्की र अहिले उनका प्रतिद्वन्दी बनेका एमालेका जगदीशप्रसाद कुसियतले यिनै एजेन्डालाई सम्बोधन गर्ने भन्दै आश्वासन देखाएका थिए । त्यतिबेला जगदीशप्रसाद कुसियत प्रदेशसभा ४ (क) को लागि उमेदवार थिए ।
यस् क्षेत्रमा १२ जनाले स्वतन्त्र उम्मेद्वारी दिएका छन् भने राप्रपाबाट बिद्यानन्द यादब, नेमकिपाबाट अर्जुन भट्टराई, लोसपाबाट कुञ्जीलाल यादब, जनमत पार्टीबाट देबराम यादब, जनता प्रगतीशील पार्टीबाट गलाबचन मुसहर, नेपाल कम्युनिष्ट पार्टी माओबादी समाजबादीबाट कुमार राई, नेपालका लागि नेपाली पार्टीबाट डम्बरप्रसाद घिमिरे, राप्रपा नेपालबाट सत्यनारायण राम, संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चबाट मों सदिक मिया, एकीकृत शक्ती नेपालबाट गोपाल नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीबाट जीवन कुमार श्रेष्ठले उम्मेद्वारी दर्ता गराएका छन् । यद्यपि चुनावी प्रतिस्पर्धा भने एमाले र जसपाको गठबन्धनबाट उमेदवार बनेका जगदीशप्रसाद कुसियत र सत्ता गठबन्धन ज्ञानेन्द्रबहादुर कार्कीबीचमै हुने स्थानीयको तर्क छ ।
किन असहज छ, ज्ञानेन्द्रबहादुर कार्कीलाई ?
टुरिष्ट नेता
कुसियत पक्षधरले यतिबेला आफ्ना प्रतिद्वन्दी ज्ञानेन्द्रबहादुर कार्कीलाई भिराइदिएको ट्याग हो, टुरिष्ट नेता । ‘भूगोल, परिवेशबाहेकका उम्मेदवार र आयातीत उम्मेदवार हराउनुपर्छ’, एक स्थानीयले भनेका छन्, ‘हरेक चुनावमा कोसीलाई मुद्दा बनाइन्छ, कोसीलाई मुद्दा बनाउन हुँदैन।’ आफ्नो आधा समय भोजपुरमा लगानी गरेको भएपनि चुनाव जित्नलाई सुनसरी झरेको, यहाँको माटोसँग परिचित नभएको, यहाँको भूगोल, समस्या र आवश्यकता नबुझेको नेताका रूपमा कार्कीलाई चित्रित गर्न थालिएको सुनिन्छ । यसरी हेर्दा जगदीश कुसियतलाई भूमिपुत्रको सन्तान भन्ने सुबिधा रहेको छभने ज्ञानेन्द्रबहादुर कार्कीलाई त्यो सुबिधा रहँदैन । अघिल्लो निर्वाचनमा राष्ट्रपति बिद्यादेवी भण्डारीको आफन्त पर्ने कार्कीलाई जिताउन गत चुनावमा राष्ट्रपति स्वयम् लागि परेको कम्युनिस्ट नेताहरूले बताउँदै आएका छन् । तत्कालीन बाम गठबन्धनका नेताहरूले नेता कार्कीलाई जिताउनको निम्ति राप्रपाबाट भर्खरै एमाले प्रवेश गरेका रमेश श्रेष्ठलाई टिकट दिलाएको भन्दै असन्तुष्ट थिए । यद्यपि अहिले भने यहाँका भूमिपुत्र कुसियतले टिकट पाएपछि यसको सोझो प्रभाव मन्त्री कार्कीलाई पर्ने आँकलन स्थानीयमा छ ।
आफ्नैबाट समस्या
कांग्रेसको १४ औँ महाधिवेशन र त्यसपछिका गतिविधिले चुनावी नतिजा प्रभावित हुने कांग्रेसकै कार्यकर्ताहरू बताउँछन् । क्षेत्र नम्बर ४ मा ज्ञानेन्द्रबहादुर कार्कीले क्षेत्रीय प्रतिनिधिदेखि महाधिवेशन प्रतिनिधिसम्म हस्तक्षेप गरेको आरोप छ । कोईराला परिवारको गणको रुपमा रहेको सुनसरी र उक्त क्षेत्रमा कोइराला समूहलाई पूर्ण रुपमा निषेध गरेका कारण त्यसको प्रभाव निर्वाचनमा देखिने कार्यकर्ताको भनाइ छ । अझ यहाँ त महाधिवेशन सकिएपछि उनीइतर समुहले ज्ञानेन्द्रबहादुर कार्की भगाउ अभियानसमेत चलाएको थियो । स्रोतकाअनुसार उनीइतर समुहका कार्यकर्ताहरू अझैसम्म रुष्ट रहेका छन् ।
आफ्नो क्षेत्रमा मात्र नभएर जिल्ला स्तरमै संस्थापनइतर पक्षलाई कमजोर पार्न भूमिका खेलेको आरोप कार्कीमाथि लागेको छ । कार्कीले स्थानीयचुनावमा समेत आफू निकटलाई टिकट वितरण गराएको कारण कार्यकर्ता चिडिएको देखिन्छ । केही समयअघि कांग्रेस सुनसरी सभापति केदार भण्डारीले करानको एक सार्वजनिक कार्यक्रममै सुनसरीमा ज्ञानेन्द्रबहादुर कार्की भित्रिएसँगै कांग्रेसको माहोल भाँडिएको आरोप लगाएका थिए । भण्डारीले अहिले सुनसरी कांग्रेसमा गुट मौलाउनुमा नेता कार्की र विजयकुमार गच्छदारलाई दोषी देखाएका थिए । यस हिसाबले पनि वडागत रूपमा छुट्टिएको गुटले मन्त्री कार्कीको चुनावी परिमाणलाई फेरबदल गर्नसक्ने कार्यकर्ताहरूकै बुझाइ छ । उसबाहेक प्रदेश सभा निर्बाचनमा प्रदेश सभा क बाट पहाडे समुदायकोलाई टिकट बितरण नगरेको भन्दै देउवा समूहमा बलिया प्रतिनिधि सभा उम्मेद्वार बनेका कार्की समूहकै कतिपय नेताहरुले काँग्रेस उम्मेद्वार कार्कीको बिरोध गर्दै हिँड्न थालेका छन् । उनीहरुले मतमा कस्तो प्रभाव पार्नसक्छन् भन्ने मतदानपछि पुष्टी भएपनि देउवासमूहकै सहकर्मीको असहयोगले कार्कीलाई निर्बाचन जित्न चुनौती हुनसक्छ । प्रदेश क मा सदानन्द मण्डल र ख मा डा इस्रायल मन्सुरलाई टिकट दिएका छन्, दुबैजना मधेशी समुदायका हुन् । बराहक्षेत्र लगायत क क्षेत्रका अधिकाँस स्थानमा पहाडे समुदायको बसोबास हुनाले त्यसको असर मन्त्री कार्कीलाई पर्न सक्छ ।
जसपाको ‘युटर्न’
गत स्थानीयतह निर्वाचनमा मन्त्री कार्कीको क्षेत्रमा पर्ने बराहक्षेत्र नगरपालिका, हरिनगर र कोसी गाउँपलिकामा पनि कांग्रेसले जितेको छ । कार्कीको निर्वाचन क्षेत्रमा पर्ने ४ वटा पालीकाको प्रमुख र ३२ मध्ये १८ वडाका अध्यक्ष पदमा कांग्रेसले जीत निकालेको छ । कांग्रेसका वडाअध्यक्षले प्राप्त गरेको मतलाई हिसाब गर्ने होभने पनि मन्त्री कार्की धेरै मतान्तरले अगाडि हुनेछन् । तर स्थानीयतह निर्वाचनको मतले संघीय निर्वाचनमा उस्तो अर्थ नराख्ने यसअघिको निर्वाचनले प्रष्ट्याइसकेको छ ।
आफ्नो निर्वाचन क्षेत्रमा पर्ने चारवटै पालिकामा कांग्रेसले जितेको भएपनि जसपाका अध्यक्ष उपेन्द्र यादवले यसअघि जितेको क्षेत्र भएका कारण पनि यस् क्षेत्रलाई जसपाको पकड क्षेत्र मानिन्छ । गत निर्वाचनमा कोशी गाउपालिकामा छुट्टै चुनाव लडेको जसपाले दोस्रो स्थान हाँसिल गरेको थियो भने अन्य पालिकामा समेत उल्लेख मत प्राप्त गरेको थियो । यद्यपि अहिले जसपाले एमालेसँग चुनावी तालमेल गरेको छ । जसपाका कारण मन्त्री कार्कीलाईनै घाटा हुने देखिन्छ ।
यता कांग्रेसले माओवादीसँग गठबन्धन गरे पनि माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा संविधानसभा सदस्य जाकिर हुसेन एमाले प्रवेश गरेका छन् । हुसेनको नेतृत्वमा माओवादीका १५ जना नेता प्रवेश गरेसँगै ५ हजार बढी मत जोडिएको एमाले नेताहरूको दाबी छ । त्यससँगै जसपाको ९ हजार मत आफ्नो पक्षमा थप भएर आउँदा एमालेलाई चुनाव जित्न बल पुग्ने उनीहरूको बुझाइ छ । त्यस्तै, माओवादी केन्द्रका प्रदेश सदस्य नरेन्द्रबहादुर बस्नेत प्रदेशसभा ४ (क) मा स्वतन्त्र उम्मेदवार बनेका छन् । माओवादी केन्द्रले यसअघि ४ (क) माग गरेको भएपनि ज्ञानेन्द्रबहादुर कार्कीको कारण आफ्नो सिट गुमेको यहाँका माओवादी कार्यकर्ताहरूको बुझाइ छ । स्रोतकाअनुसार त्यही कारण ज्ञानेन्द्रबहादुर कार्कीलाई भित्रैदेखी सहयोग गर्ने पक्षमा माओवादी कार्यकर्ताहरूको मनाशय देखिँदैन । लोकतान्त्रीक समाजबादी पार्टीसँग केन्द्रमा गठबन्धन गरिएको भनिएपनि प्रा. कुँजीलाल यादब मन्त्री कार्कीसँग प्रतिनिधि सभा निर्बाचनमा उम्मेद्वार बनेका छन् । उनले पनि केही भोट काटेने देखिन्छ । प्रा यादबले यादब समुदायको मत काट्ने भएपनि काँग्रेसको कति मत काट्छन् त्यो भने छुट्याउन मंसिर ४ पर्खनुपर्ला ।
जातिय मत
४ प्रतिनिधिसभा र ८ ओटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको सुनसरीमा लगभग साढे ९ लाख हाराहारीमा जनसंख्या रहेको छ ।
जसमा ६८ प्रतिशत तराईमूलका नागरिक बसोबास गर्छन् । त्यसमा पनि मन्त्री कार्कीको क्षेत्रमा भने अधिकांश तराईमुलका नागरिकहरूको बाहुल्यता छ । मन्त्री कार्कीका प्रतिद्वन्दी जगदीश कुसियत यस् क्षेत्रका भूमिपुत्र मात्र नभएर मधेसी समुदायका उमेदवार समेत भएकाले पनि चुनावी अंकगणितमा बद्लाब आउने आंकलन गर्न सकिन्छ । कुसियतलाई सोही समुदायका उम्मेदवार भएका कारण पनि जातीय समीकरणअनुसार मत आएमा आफूहरुको जीत निकाल्नका लागि सहज हुने कतिपय एमाले नेताहरूको आँकलन छ ।
उसो त ज्ञानेन्द्रबहादुर कार्कीनिकट नेता तथा कार्यकर्ताहरू भने आफूहरूको जीत निश्चित भएको बताउँछन् । कांग्रेसका ४ का क्षेत्रीय सभापति अयुब अन्सारी आफ्ना चुनावी एजेन्डा र आफूहरूले बिगतमा गरेको कामलाई जनतामा लैजाने र चुनाब जित्नेमा विश्वस्त छन् । कार्की निकट स्थानीय नेताका अनुसार, ‘विकास निर्माणको क्रमलाई हेर्दा ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४ मा आएपछि शिक्षा र बाटोघाटोमा भने उथलपुथल नै भएको छ । ५० वर्षअघिदेखि बस्ती बराहक्षेत्रको ६ र ९ वडामा पर्ने श्रीलंका टापुमा अहिलेसम्म बिजुली बत्ती बलेको थिएन । कार्की निर्वाचित भएसँगै उनकै पहलमा श्रीलंका टापुमा बिजुली पुगेको छ ।’
कार्कीका विषयलाई लिएर सुनसरी कांग्रेसमा उत्पन्न मनमुटाव र अघिल्लो निर्वाचनमा कार्कीले दिएको आश्वासन पूरा नगरेको विषयलाई चुनावी मुद्दाका रूपमा अघि सार्ने एमालेको तयारी छ । यद्यपि मन्त्री कार्कीले भने सार्वजनिक कार्यक्रममा आफूले घोषणा गरेको ८० प्रतिशत काम सकेको जिकिर गर्ने गरेका छन् । सञ्चारमन्त्री भइकन पनि आफ्नै क्षेत्रमा मोबाइलमा टावर नआउने समस्या उस्तै छ । भलै यसमा टावर निर्माणमा टेन्डर आह्वान भइसकेको छ । सरल र सहज रूपमा उपलब्ध हुन रुचाउने नेता कार्कीको आफ्ना कार्यकर्तालाई खुसी पार्न भने प्रयासरत छन् ।
कार्कीका राम्रा पक्ष
उनी सालिन, कसैसँग नरिसाउने र काठमाडौंमा बसोबास रहेपनि अन्य उम्मेद्वारभन्दा आफ्नो निर्बाचन क्षेत्र गईरहने नेतामा पर्दछन् । मन्त्रालय वा निवासमा जिल्ला वा क्षेत्रका जनता आएमा सहजै भेटघाट गर्ने उनको बानी रहेको जिल्लाबासीको बुझाई छ । उनले भेट गर्दा जिल्लाबासीको काम भने केही नहुने स्थानीयले तर्क गरेपनि अन्य नेतामाभन्दा मन्त्री कार्कीमा साधारण जनताको पहुँच भने छ, स्थानीयले मोवाईलमा फोन गरेमा मन्त्री कार्कीले कहिल्यै नउठाउने भने बताउँछन् । नेपाली काँग्रेसका बरिष्ठ केन्द्रीय सदस्य, मन्त्रीमात्र नभएर सरकारका प्रवक्तालगायत अन्य धेरै जिम्मेवारी भएर कारण उठाउन नभ्याएर फोन नउठाएको अनुमान सबैले लगाउने गरेका पनि छन् । उनी २५ जना अन्य पार्टीका स्वतन्त्र उम्मेद्वारमध्ये १२ जना स्वतन्त्र र अन्य अधिकाँस मधेशी मूलका भएका कारण पनि जगदीश कुशियतकै भोट काटिने र आफु विजयी हुने अनुमानले केही ढुक्क भएको देखिएको छ ।