कृषि

व्यावसायिक कुखुरापालनबाट मनग्य आम्दानी

१३ कात्तिक, झापा । झापाको मेचीनगर–८ स्थित गिरीगाउँका युवा व्यवसायी ईश्वर गिरीले छ वर्षदेखि व्यावसायिक कुखुरापालन गरेका छन ।

उनले यसबाटै राम्रो कमाइसमेत गरेका छन् । द पूर्वाञ्चल पोल्ट्री फार्म प्रालि दर्ता गरेर १० कठ्ठा जग्गामा व्यावसायिकरूपमा गरेको लेयर्स जातको कुखुरापालनबाट वार्षिकरूपमा रू ४० लाख आम्दानी गर्न सफल भएको गिरीले बताए ।

रु एक करोड लगानीमा फार्म सञ्चालन गरेका उनले अहिले लेयर्स जातका छ हजार पाँच सय कुखुरा पालेका छन् । लेयर्स जातका कुखुराले एक ‘लट’मा पाच वर्षसम्म अण्डा दिने गरेको तर १५ महिना जतिचाहिँ राम्रो अण्डा दिने बताए ।

“स्वदेशमै बसेर केही आयआर्जन गर्ने सोचमा भएकाले सुरुमा ऋण लिएर कुखुरा फार्मका लागि जग्गा जोडेको थिएँ, अहिले यही पेसाबाट बैंकको ऋणसमेत तिर्न सफल भएँ”, व्यवसायी गिरीले सुनाए । बिबीएस पास गरेका उनले युरोपका क्यानाडा, जर्मन, पोर्चुगललगायत विभिन्न देशमा रोजगारीको सिलसिलामा धेरै वर्ष बिताएका थिए । तर जहाँ बसे पनि नेपालमा बसेर व्यवसाय गरे जत्तिको सन्तुष्टि आफूलाई नमिलेको उनले बताए ।

कृषिमा सम्भावना देखेर रहरले विदेसबाट आएर व्यावसायिकरूपमा कुखुरापालन गरेकामा यसबाट आफू खुसी भएको उनले सुनाए । फार्ममा दैनिक पाँच हजार अण्डा उत्पादन हुन्छ । अण्डा प्रतिगोटा रु ११ मा फार्ममै बिक्री हुन्छ भने पूर्वी नेपाललगायत विभिन्न स्थानमा थोक तथा खुद्रा मूल्यमा बिक्री हुने गरेको किसान गिरीले उल्लेख गरे ।

लेयर्स जातको कुखुरा अण्डा र मासुका लागि उपयुक्त मानिन्छ । कुखुराको सुली (मल)बाट समेत राम्रो आम्दानी हुने गरेको उनले बताए । प्रतिबोरा रु तीन सयमा फार्मबाट सुली बिक्री हुने गरेको गिरीले सुनाए । दुईवटा ठूला–ठूला कटेरोमा कुखुरा पालिएको छ ।

कुखुरापालनसँगै उनले क्रसर व्यवसायमा समेत लगानी गरी अगाडि बढाएका छन् । उनले “कृषिमा सम्भावना धेरै छ, जाँगर चलाउँदै तरिका पु¥याएर काम गर्दा नाफा हुन्छ”, उनले भने । कुखुरालाई बेलाबखत लाग्ने रोगले भने सताउँछ, यसपालि पनि धेरै कुखुरा मरेका उनले बताए। त्यस्तै कहिलेकाहीँ बिचौलियाले गर्दा उचित मूल्य नपाउने गुनासो पनि उनले सुनाए ।

“हामीजस्ता युवालाई विदेश पलायन हुनबाट रोक्नका लागि उद्यमशील किसानलाई सरकारले आवश्यक सहयोग गरी स्वदेशमै आधुनिक खेती गर्न प्रेरित गर्न जरूरी छ”, उनले भने ।