पर्यटन/संस्कृति

राष्ट्रपतिद्वारा कमलपोखरीमा छठ पूजा

१३ कात्तिक, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कमलपोखरीमा निर्माण गरिएको छठ पूजास्थलमा गई आज छठी माताको पूजा आराधना गरेका छन् ।

काठमाडौँ महानगरपालिकाको संयोजनमा तयार गरिएको सो पूजा स्थलमा पुगी उनले अस्ताउँदो सूर्यलाई अर्घ्यदान गरे । त्यसअघि राष्ट्रपति भण्डारीले पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि बाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थलमा गई सूर्यसहित छठी माताको पूजा आराधाना एवं अर्घ्यदान गरेका थिए । 

अस्ताउँदो सूर्यको पूजा आराधना गर्न कमलपोखरीलाई झकिझकाउ पारिएको थियो । कमलपोखरीमा श्रद्धालु, बर्तालु र भक्तजनको बाक्लो उपस्थिति थियो ।

पूजास्थलमा आयोजित संक्षिप्त कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिक, समाजसेवी, शिक्षासेवी, उद्योगी व्यवसायीलाई सम्मान गरेका थिए। पूजास्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, पूर्वमन्त्री गगनकुमार थापा, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डङ्गोल, विभिन्न वडाका वडाध्यक्षलगायतको उपस्थिति थियो ।