कुराकानी

म सुनसरीको धर्तिपुत्र हुँ, मेरो उम्मेद्बारी सञ्चार मन्त्री कार्की र साँसद कुसियत दुबैको लागि चुनौती होः प्रा. यादब (अन्तरवार्ता)

१८, कात्तिक, चक्रघट्टी । निर्वाचन नजिकिदै जाँदा सुनसरी निर्वाचन क्षेत्र नं ४ मा प्रतिष्पर्धा बहुपक्षिय हुने देखिएको छ । नेपाली काँग्रेस, जसपा-एमाले गठबन्धन, राप्रपा, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)लगायत १३ वटा पार्टी र १२ जना स्वतन्त्रबीचका बिच बहुपक्षिय प्रतिष्पर्धा हुने अनुमान गरिएको छ । विगतका चुनावमा जित हाँसिल गरेका ज्ञानेन्द्रबहादुर कार्की, जगदिश कुसियैत पुराना अनुहार हुन् भने लोसपाबाट उम्मेदवारी दिएका प्रोफेसर कुञ्जीलाल यादव नयाँ अनुहार हुन । भोक्राहा नरसिंह गाउँपालिका वडा नं ७ निवासी लोसपाका उम्मेदवार कुञ्जीलाल यादव रसायनशास्त्रका प्राध्यापक समेत हुन । उच्च शिक्षा हाँसिल गरेका, भद्र भलाद्मी, समाजसेवी समेत रहेका प्रोफेसर यादवको उम्मेदवारीले यहाँको जनतामा उत्साह देख्न सकिन्छ । सुर्यखबरमा प्रस्तुत छ, दसकौं नेपाली काँग्रेसमा रहेर पछिल्लो समय रहेर काँग्रेस परित्याग गर्दै लोकतान्त्रीक समाजबादी दलबाट प्रतिनिधिसभा सदस्य सुनसरी निर्वाचन क्षेत्र नं ४ का उम्मेदवार प्राध्यापक कुञ्जीलाल यादवसँग सुर्यखबर सुनसरी संबाददाता सुबिन बिश्वकर्माद्वारा गरिएको कुराकानीको सम्पादित अंशः

सुनसरी निर्वाचन क्षेत्र नं ४ मा तपाइको उम्मेदवारी किन ?

संघियताको मर्म र मान्यता विपरित अन्यत्र बाट आयातित उम्मेदवारी सँग असहमत रहेको साथै यस क्षेत्रको समग्र विकास एवं समृद्धिको लागि मैले प्रतिनिधिसभाको सुनसरी संघीय निर्वाचन क्षेत्र नं-४ बाट संघीय सांसद पदमा आफ्नो उम्मेदवारी प्रस्तुत गरेको छु । आयातित उम्मेदवारका साथै काम गर्न नसक्ने पुर्व मन्त्रीसँग कदापि समर्पण होइन त्यसको विरुद्धमा भावि पुस्ताको लागि सँघर्ष गरी यो क्षेत्रको सर्वाङ्गीन विकासको लागि मेरो उम्मेदवारी दिएको छु ।

तपाइलाई ज्ञानेन्द्रबहादुर कार्की जिताउन तथा जगदिशको मत काट्नको लागि उम्मेदवारी दिएको हो भन्ने आरोप लाग्ने गरेको छ नि, के भन्न चाहनुहुन्छ ?

यो चुनावी प्रोपागान्डा मात्र हो । मेरो उम्मेदवारीले गर्दा त्रसित भएका नेपाली काँग्रेस र एमाले जस्ता दलका उम्मेदवारहरुको प्रपञ्च हो । मैले बाहिरिया उम्मेदवार भगाउनका लागि विगत १ वर्ष देखि यो क्षेत्रमा भेटघाट गर्दै आएको छु । टुरिष्ट उम्मेदवारलाइ यहाँबाट लखेट्नका लागि पहिलो आवाज उठाउने म नै हुँ । म १ वर्ष देखि घरदैलो गर्दै हिडेको हो, एमाले कहाँ थियो त्यतिबेला ? अहिले मैले उठान गरेको मुद्दालाई आफ्नो भनि एमाले प्रचारवाजीमा उत्रिएको छ । त्यसैले भ्रममा नपर्न म यो क्षेत्रका जनतालाइ अपिल गर्न चाहन्छु ।

तपाईंको प्रतिस्पर्धी ज्ञानेन्द्रबहादुर कार्कीलाई यहाँहरूले टुरिष्ट उमेदवार भनिरहनु भएको छ । तर उहाँ अहिले यहिँको बासिन्दा भइसक्नु भएको छ नि ?

अहिले चुनावलाइ लक्षित गरेर बसाइसराइ गर्नु भएको हो उहाँले । । जो यहाँ जन्मियो हुर्कियो उ यहाँको रैथाने हो, नकि आज आएर बसाइसराइ गरेर आएको उम्मेदवार । यहि माटोमा जन्मने हुर्किनेले आफ्नो क्षेत्रको लागि जति चासो देखाउछ त्यो अरुले देखाउन सक्दैन । त्यसैले म यो क्षेत्रको आम मतदाता दिदी दाजुभाइलाइ सचेत रहन आग्रह गर्न चाहन्छु ।

अर्का उम्मेदवार जसपा- एमाले गठबन्धनका जगदिश कुसियतबाट तपाइलाई कत्तिको चुनौति रहेको देख्नुहुन्छ ?

हो उहाँ यहाँको कोशी गाउँपालकाबासी हो । यस क्षेत्रको बासिन्दा भएतापनि उहाँलाइ विभिन्न समयमा निर्वाचित गरेर हामीले नै पठाएका थियौं तर हामिले के पायौं त ? सरकारी गाडीको झन्डा हल्लाएर कोशी गाउँपालिकाको घर आउने जाने र नेकपा एमालेका निकटका कार्यकर्ता पोस्ने भन्दा अरु के नै गर्नु भयो र उहाँले ? आजको जनताले यो सवाल उहाँसँग गर्नु पर्छ । झुटको खेति गरेर कति पटक जनतालाइ धोका दिनसकिन्छ र ? अहिलेका जनता धेरै सचेत भइ सकेका छन । फेरि जगदिशजी लाइ भोट दिएर त्यहि नियति दोहोर्यानका लागि यहाँका जनता तयार छैन यसपालिको चुनावमा ।

तपाइको यो चुनावको लागि के के ऐजेन्डा लिएर जाँदै हुनुहुन्छ ?

प्रतिनिधिसभाको संघीय सांसद पदमा मेरो उम्मेदवारी केही मुख्य उद्देश्यहरु प्राप्तिका लागि हुनेछ । मैले भनेको छु, राष्ट्र र राष्ट्रियता एक अर्काको पुरक हुन । देशको सार्वभौमिकता, स्वतन्त्रता, अखण्डता र राष्ट्रिय एकताको लागि म सदैव कटिवद्धभइ समर्पित रहने छु । त्यस्तै, राष्ट्रिय पहिचान, क्षेत्रिय पहिचान, सामाजिक पहिचान, जातिय पहिचानका सवाल पनि मेरो एजेन्डा हुनेछन् । नेपालका सबै जात जातिको राज्यको हरेक अंगमा समानुपातिक प्रतिनिधित्व हुनु पर्छ । लोकतन्त्र र समाजवादको प्राप्तिसँगै हरेक मानिसको स्वास्थ जिवन प्रणाली आवश्यक छ । जसअन्तर्गत प्रतिनिधिसभाको निर्वाचन क्षेत्र नं ४ अन्तर्गत एक अत्याधुनिक अस्पताल स्थापनाका साथै प्रत्येक वडामा सुविधा -सम्पन्न स्वास्थ्य चौकीको व्यवस्था गर्न आवश्यक कार्य गर्ने गराउने योजना छ । प्रत्येक वर्ष निःशुल्क स्वास्थ्य परिक्षण, हरेक नागरिकको नि:शुल्क स्वास्थ्य बिमा आवश्यक छ । सरकारी विद्यालयहरुमा आवश्यक भौतिक साधनहरु उपलब्ध गराउने, सरकारी विद्यालयहरुमा बाल शिक्षा देखि नै अँग्रेजी भाषाको माध्यम लगायत नेपाली तथा स्थानीय मातृभाषामा विद्यालयले शिक्षा प्रदान गर्न सरकारबाट आवश्यक कार्य गराउने व्यवस्था मिलाउने मेरो प्राथमिकता रहनेछ । शिक्षित बेरोजगारहरुलाई लोकसेवा लगायत अन्य सरकारी नोकरीको लागि आवश्यक कक्षाहरु सञ्चालन गर्ने गराउने, विदेशमा रोजगारी तथा अध्ययन गर्न चाहनेहरुको लागि आवश्यक निशुल्क तालिम र परामर्श प्रदान गर्ने गराउने मेरो योजना छ । मुख्य रुपमा कृषि उत्पादनमा वृद्धि गराउने आवश्यक व्यवस्थापन मिलाउने कार्य गर्ने गराउने, कृषि उत्पादनका सामाग्रीहरुको सरल र सुलभ बजार व्यवस्थापन मिलाउने कार्य गर्ने गराउने मेरो एजेन्डा छन् ।
त्यस्तै, मूख्यगरी कोशी टप्पु बन्यजन्तु आरक्ष क्षेत्रको बिकास र सुदृढ गर्नका साथै घेरा बेरा गराउने कार्यमा सरकारसँग माग गरि प्रकृया अघि बढाउन प्रयत्न गर्ने छु ।
कोशी टप्पु क्षेत्रलाइ आधुनिक पर्यटकीय क्षेत्र बनाउन आवश्यक कार्य गर्ने गराउने छु । सामाजिक न्यायको आधारमा राज्यको प्रत्येक अँगमा समानुपातिक प्रतिनिधित्व पाउनु पर्छ भन्ने मेरो मान्यता हो र सोको लागि आवश्यक कार्य गर्नेछु ।

तपाईको जितको आधार चाँही के के देख्नु हुन्छ ?

जितका धेरै आधारहरु रहेका छन । यो निर्वाचन क्षेत्रको विडम्वना के रहेको छ भने यहाँ सधैं बाहिरिया नेता आएर जितेर गएको छ । उदाहरणका लागि वि सं २०५१ सालमा मध्यावधि निर्वाचनमा विराटनगरबाट सम्मानीय गिरिजा प्रसाद कोइराला, वि सं २०५२ सालमा उपनिर्वाचनमा विराटनगरबाट माननीय हरि सापकोटा, वि सं २०५६ सालमा विराटनगरबाट सम्माननीय गिरिजा प्रसाद कोइराला, वि सं २०६४ सालमा विराटनगरबाट माननीय सुजाता कोइराला र सप्तरीबाट माननीय उपेन्द्र यादव , वि सं २०७० सालमा सप्तरीबाट उपेन्द्र यादव, वि सं २०७४ सालमा भोजपुर बाट माननीय ज्ञानेन्द्र वहादुर कार्की , वि सं २०७९ सालमा भोजपुरबाट पुनः माननीय ज्ञानेन्द्र वहादुर कार्की र सुनसरी निर्वाचन क्षेत्र नं ३का विद्यानन्द यादव को उम्मेदवारी । अब पहिला जस्तो रहेन, अहिले आएर जनता धेरै सचेत भएका छन । बाहिरियालाई खोज्न जानु पर्छ तर म यहाँको धर्तिपुत्र हुँ । मेरो घर यहिको मतदाताहरुको विच रहेको छ । यहाँको जनताको सुख दुखमा मैले जतिको अरुले गर्ने कुरामा शंका रहेको छ ।

म यहाँको रैथाने भएको हुनाले मैले जति यो ठाउँको समस्या बुझेको छु र साथसाथै भोगेको छु त्यो अरुले भोगेको छैन । तसर्थ यहाँको समस्याहरुलाइ कसरि र कुन प्राथमिकतामा गर्नु पर्छ भन्ने मलाइ थाहा छ । तसर्थ यस पालिको चुनावमा यहाँका जनताले मलाइ अत्यधिक बहुमतका साथ विजयी गराउने छन भन्ने कुरामा कुनै शंका छैन ।