अन्तर्राष्ट्रिय

हमिद कारजाईका भाइ महमूदलाई तालिबानले हिरासतमा लियो

२१ कात्तिक, काबुल, अफगानिस्तान । अफगानिस्तानका पूर्व राष्ट्रपति हमिद कारजाईका भाइ अर्थात एक प्रमुख अफगान व्यापारी महमूद कारजाईलाई आइतबार काबुल एयरपोर्टमा तालिबानले हिरासतमा लिएको स्रोतले खामा प्रेसलाई बताएको छ ।

पूर्व सहरी विकास र भूमि मन्त्री महमूद कारजाईलाई कानुनी समस्याका कारण विदेश यात्रा गर्न प्रतिबन्ध लगाइएको तालिबानका प्रवक्ताले टोलो न्युजलाईलाई जानकारी दिएका छ्न ।

तालिबानको प्रधानमन्त्रीको कार्यालयनजिकैको एक स्रोतले खामा प्रेसलाई महमूद कारजाईलाई तालिबानको गुप्तचर सेवाले काबुल एयरपोर्टबाट हिरासतमा लिएको बताएको छ । उनी दुबईको एरियाना एयरलाइन्सको उडानमा सवार थिए ।

हमिद कारजाई र अब्दुल्लाह अब्दुल्लाह दुबै जना अगानिस्तानका उच्च तहका राजनीतिज्ञ हुन् । उनीहरुले तालिबानले अफगानिस्तानमा नियन्त्रण गरेपछि पनि अफगानिस्तानमा नै बस्दै आएका छन् । पूर्व राष्ट्रपति हमिद कारजाईले तालिबान सरकारको महिला अधिकारलाई कुण्ठित गरेको भन्दै आलोचना गर्दै आएका छन् । तालिबानलाई समावेशी सरकार गठन गर्न माग गरिरहेका छन् ।

खामा प्रेससँग कुरा गर्ने स्रोतले महमूद कारजाईलाई हिरासतमा राख्नुको कारण उनको भाइ हमिद कारजाईको राजनीतिक टिप्पणी हुनसक्ने विश्वास गरेको छ ।