राजनीति

शिक्षालाई राजनीतिबाट मुक्त गर्नुपर्छः काँग्रेस नेता प्रधान

२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वरक्षामन्त्री भीमसेनदास प्रधानले शिक्षालाई राजनीतिक क्षेत्रबाट मुक्त गर्नुपर्ने बताएका छन् ।

वुद्धिजीवी तथा पेशागत समूहले आज यहाँ आयोजना गरेको ‘आगामी निर्वाचनका बारेमा लोकतन्त्र पक्षधर उम्मेदवार र विज्ञताबीचको अन्तक्र्रिया कार्यक्रम’ मा बोल्दै उनले शिक्षालाई राजनीतिकबाट मुक्त गर्न सकेमात्र देशको विकास हुने बताएका छन् । “राजनीतिलाई सही दिशामा लैजानका लागि बुद्धिजीवी, पेशागत र नागरिक समाजको महत्वपूर्ण भूमिका रहन्छ”, उनले भने ।

आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा काठमाडौँ क्षेत्र नं ६ बाट प्रतिनिधिसभा सदस्य बनेका नेता प्रधानले निर्वाचनमा सही विवेक प्रदान गर्न मतदातालाई आग्रह गरे । पूर्वमन्त्री नरहरि आचार्यले देश अफ्ठ्यारो अवस्थामा गएको भन्दै यतिबेला मतदाताले सही विवेकको प्रयोग गर्नुपर्ने बेला आएको बताए । “हरेक कुरामा बुद्धिजीवी र पेशागत समुदायले भिन्न मत राख्न सक्छन् तर देशलाई अफ्ठ्यारो परेको बेलामा एक ठाउँमा जुट्छन्”, उनले भने ।

लोकतान्त्रिक–वाम गठबन्धनबाट काठमाडौँ क्षेत्र नं ६ प्रदेश (१) का उम्मेदवार हरिप्रभा खड्गीले बुद्धिजीवीको राय, सल्लाह र सुझाव लिएर अगाडि बढ्ने विश्वास व्यक्त गरे । नेपाल मेडिकल एशोसिएसनकी पूर्वअध्यक्ष डा सुधा शर्माले संविधानले व्यवस्था गरेको दलीय व्यवस्थालाई बलियो र सुधार गर्दै अगाडि बढ्नुपर्ने वर्तमान आवश्यकता रहेको बताए। “पछिल्लो समय स्वतन्त्र उम्मेदवार हाबी हुँदै गएको बेलामा दल सच्चिएर अगाडि बढ्नुपर्ने बेला आएको छ”, उनले भने।

वरिष्ठ अधिवक्ता शम्भु थापाले संसद् र व्यवस्थाले स्थायित्व लिन नसकेको भन्दै त्यसलाई सही ढङ्गले अगाडि बढाउने उम्मेदवार चयन गर्नु आजको आवश्यकता भएको बताए । उनले ‘नो नट अगेन’ बेकारको कुरा भएको उल्लेख गरे। वरिष्ठ अधिवक्ता थापाले इतिहास, आन्दोलन र सङ्घर्षबाट जन्मिएको व्यक्तिले नै आगामी निर्वाचन जित्नुपर्ने धारणा राखे।

वरिष्ठ पत्रकार हरिहर विरही, राजनीतिक विश्लेषक हरिदर्शन श्रेष्ठ, प्राध्यापक खगेन्द्र भट्टराईलगायतले मतदाताको गुनासोलाई सम्बोधन गर्ने नेतृत्व अहिलेको आवश्यकता भएको बताए। उनीहरूले राजनीतिक दलको विकल्प मुलुकमा नभएको बताउँदै राजनीतिलाई सही ढङ्गले हिँडाउने नेतृत्व चाहिएको उल्लेख गरे ।