पर्यटन/संस्कृति

चन्द्रविनायक तथा भैरवनाथ जात्राको तेस्रो दिन गराइयो पशुपतिनाथको दर्शन

२४ कात्तिक, काठमाडौँ । श्री चन्द्रविनायक र श्री भैरवनाथ जात्राको दोस्रो दिन आज श्री चन्द्रविनायक र श्री भैरवनाथको खटलाई रथमा राखी पशुपतिनाथको दर्शन गराइएको छ ।

प्रत्येक वर्ष मार्ग शीर्ष कृष्ण द्वितीयाका दिन दुवै रथलाई पशुपतिमा लगी पिताको दर्शन गराउने प्राचीन परम्परा छ । पशुपतिनाथको दर्शन गराएपछि त्यहीँदेखि चुच्चेपाटीसम्मका मूल चोकहरुमा रथलाई घुमाइएको जात्रा समितिले जनाएको छ । बेलुकी भने चारुमती बहालमै रथ नचाई टसी अर्थात् बिमिरो प्रसादका रुपमा वितरण गर्ने कार्यक्रम रहेको छ ।

मार्ग शीर्ष कृष्ण तृतीयाका दिन शुक्रबार बिहान अमालकोट कचहरीका द्वारेले श्री चन्द्रविनायक र श्री भैरवनाथलाई अबिर चढाएपछि जात्रा समापन हुन्छ । जात्रा सफलतापूर्वक समापन भएको खुसीयालीमा शुक्रबार दिनभर चावहिल क्षेत्रमा सिन्दूर जात्रा गरिने जात्रा समन्वय समितिका सदस्य राजु भारतीले जानकारी दिए ।

श्री चन्द्रविनायक तथा श्री भैरवनाथको रथलाई जात्राको दोस्रो दिन बुधबार मन्दिर वरपर घुमाई गङ्गाहिटीमा लगेर स्नान गराइएको थियो । स्नानपछि दुवै खटलाई बुधबार बेलुकी चारुमती बिहारमा लगेर बिसाइएको थियो ।

करिब साढे तीन सय वर्ष पुरानो श्री चन्द्रविनायक तथा श्री भैरवनाथ जात्रा कार्तिक शुक्ल पूर्णिमादेखि चार दिनसम्म चावहिल क्षेत्रमा धुमधामसाथ मनाइन्छ । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमादेखि मार्ग शीर्ष कृष्ण तृतीयासम्म चार दिन पशुपति, जयवागेश्वरी, मित्रपार्क, चावहिल र चुच्चेपाटी क्षेत्रमा चन्द्रविनायक जात्रा मनाउने गरिन्छ । नेपाल संवत् ८०१ मा राजा भूपालेन्द्र मल्लले यो जात्राको शुरुवात् गराएको विश्वास गरिन्छ ।

जात्राको पहिलो दिन ‘मलजा नकेगु’ कुमार कुमारीको पूजा गरेर विनायकको प्रसाद खुवाइएको थियो । चन्द्रविनायक उपत्यकाका चार विनायकमध्ये एक हो । चन्द्रविनायकलाई पशुपतिनाथको छोरा हो भन्ने धार्मिक मान्यतासमेत छ ।