राजनीति

झापा–१ बाट महामन्त्री शर्मा १४ हजार भन्दा बढीको फराकिलो मतान्तरले विजयी

७ मंसिर, झापा । झापा क्षेत्र नं १ मा प्रतिनिधिसभामा वाम गठबन्धनतर्फका नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रकाश शर्मा फराकिलो मतान्तरले विजयी भएका छन् ।

नेकपा (एमाले)का उम्मेदवार अग्नि खरेललाई १४ हजार दुई सय ७५ मतले पछि पार्दै शर्मा विजयी भएका हुन् । शर्माले ३९ हजार छ सय २४ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी खरेलले २५ हजार तीन सय ४९ मत प्राप्त गरेको निर्वाचन अधिकृत टङ्कबहादुर महतले जानकारी दिए । शर्मा नेपाली कांग्रेसका महामन्त्री हुन् भने खरेल नेकपा एमालेका स्थायी कमिटी सदस्य हुन् ।

शर्माको राजनीतिक यात्रा

पर्शुराम र सावित्री शर्माका कान्छा छोरा हुन् विश्वप्रकाश । विसं २०२७ पुस ६ गते झापाको साविक शान्तिनगर गाविसमा उनको जन्म भएको हो । विसं २०३७ देखि विद्यार्थी आन्दोलनमा होमिएका शर्मा नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको महामन्त्री हुँदै अध्यक्षसमेत भए । हाल उनी नेपाली कांग्रेसको महामन्त्री हुन् ।

सिर्जनशील युवा नेता शर्मा राजनीतिक विश्लेषक एवं साहित्यकारका रूपमा समेत पनि परिचित छन् । शर्माले त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् । शर्माकी श्रीमती कविता, दुई छोरी स्वीकृति र शीर्षप्रकाश छन् ।

नेपाली कांग्रेसको १३ औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका शर्माले यसअघि पार्टीको केन्द्रीय प्रवक्ताको जिम्मेवारीमा रहेर काम गरे। उाी पार्टीको १४ औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका हुन् ।

सामान्य परिवारमा जन्मनुभएका शर्मा धुलाबारी माविमा कक्षा ९ मा अध्ययन गर्दा १४ वर्षको उमेरमा पहिलोपटक जेल परेका थिए। नेविसङ्घ धुलाबारीको एकाइ सभापति बनेर राजनीतिमा पाइला चालेका शर्माले नेविसङ्घ भद्रपुर क्याम्पसको सभापति बन्दै १२ औँ महाधिवेशनबाट नेविसङ्घ झापा सभापतिको जिम्मेवारी सम्हाल्दै राजनीतिमा अघि बढेका थिए ।

नेपाली कांग्रेसको १२ औँ महाधिवेशनमा पार्टीको झापा सभापतिमा प्रतिस्पर्धा गरेका शर्माले त्यसबेला उद्धव थापासँग २८० मतले पराजित भएका थिए । तेह्रौँ महाधिवेशनमा समेत थापालाई सर्वसम्मत जिल्ला सभापति बनाएर आफू भने पार्टीको केन्द्रीय राजनीतिमा लागेका थिए ।

विसं २०७० को संविधानसभा निर्वाचनमा पहिलो पटक सहभागी बनेका शर्मा त्यसबेला नेकपा (एमाले) नेता कोइरालासँग पराजित भए। विसं २०७४ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का कार्कीसँग पराजित भएका शर्माले यस पटक नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य खरेललाई पराजित गरेका हुन् । शालीन र सभ्य, तर्कपूर्ण अभिव्यक्ति र वाककलामा अब्बल शर्मा दृढ र आत्मविश्वासी नेताका रूपमा परिचित हुन् । सानैदेखि विद्रोही स्वभावका शर्मा बिपीका सच्चा अनुयायी हुन् ।