राजनीति

सीके राउत १८ हजार ६३ को फराकिलो मतामन्तरले उपेन्द्र यादबसँग विजयी

७ मंसिर, काठमाडौं । सप्तरी क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सिके राउत फराकिलो मतान्तरले विजयी भएका छन् ।

मतगणनामा सुरुआतदेखि नै अग्रता लिएका राउतले ३५ हजार ४२ मत प्राप्त गरी १८ हजार ६३ मतान्तरले विजयी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय सप्तरीले जनाएको छ । निकटतम प्रतिद्वन्द्वी जसपाका अध्यक्ष उपेन्द्र यादवले १६ हजार नौ सय ७९ मत ल्याए ।

सत्ता गठबन्धनको समर्थनमा उम्मेदवार बनेका लोसपाका जयप्रकाश ठाकुरले सात हजार तीन सय ४७ मत प्राप्त गरे । सप्तरी–२ मा ६७ दशमलव ९७ प्रतिशत अर्थात् ६४ हजार पाँच सय ६० मतदान भएको थियो । जसमा ६० हजार नौ सय २१ मत सदर भएको छ भने तीन हजार दुई सय ९८ मत बदर भएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए।

गत निर्वाचनमा यादवले यसै क्षेत्रबाट २१ हजार सात सय २० मत ल्याएर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । सप्तरी–२ को दुवै प्रदेशसभा सदस्यमासमेत जनमत पार्टीका सतिशकुमार सिंह र महेशप्रसाद यादव विजयी भएका हुन् ।

हालसम्म सार्वजनिक सप्तरीको तीन वटै प्रदेशसभा सदस्यमा जनमत पार्टीले जित निकालेको छ । प्रदेशसभा सप्तरी–२ को दुवै सदस्यबाहेक जनमत पार्टीले सप्तरी ३ (२) मा पनि ४८ मतअन्तरले जित हासिल गरेको छ । जनता समाजवादी पार्टीका निवर्तमान प्रदेशसभा सदस्य विदेश्वरप्रसाद यादव विकीलाई पराजित गर्दै जनमत पार्टीका इञ्जिनियर शम्भुकुमार साह ३ ९२० बाट प्रदेशसभा सदस्यमा विजयी भएका छन् ।

सप्तरीको बाँकी प्रदेशसभा सदस्यमा थप दुई वटामा जनमत पार्टीका उम्मेदवारले अग्रता लिएका छन् । जनमत पार्टीकोतर्फबाट सप्तरीको १ (१) मा सकिलमियाँले पाँच हजार तीन सय ५९ मतका साथ र ३ (१) मा रामप्रसाद मण्डलले छ हजार पाँच सय ३४ मतका साथ अग्रता लिएका छन् ।

नेकपा (एमाले) का राजकुमार लेखीले सप्तरी १ (१) मा तीन हजार दुई सय ५१ मत, नेकपा (एस) गोविन्दबहादुर न्यौपानले ४ (१) मा चार हजार नौ सय ७४ मत र स्वतन्त्रबाट अनिरुद्धकुमार सिंह यादवले ४ (२) मा दुई हजार छ हजार ६८ मतका साथ अग्रता कायम गरेका हुन् । प्रतिनिधिसभातर्फ कांग्रेसबाट सप्तरी–३ मा दिनेशकुमार यादव र ४ मा तेजुलाल चौधरी, सप्तरी–१ मा जसपाका नवलकिशोर साह अग्रस्थानमा हुन् ।