समाचार

सङ्खुवासभामा कांग्रेसका दीपक खड्का विजयी

९ मंसिर, सङ्खुवासभा । सङ्खुवासभाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका दीपक खड्का निर्वाचित भएका छन् । कांग्रेसका खड्काले ३२ हजार एक सय ५८ मत ल्याएर निर्वाचित भएको सहायक निर्वाचन अधिकृत डा इन्द्र सापकोटाले जानकारी दिए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार राजेन्द्रप्रसाद गौतमले २६ हजार सात सय १९ मत ल्याएका छन् । खड्काले पाँच हजार चार सय ३९ मतान्तरले विजयी भएका छन् । विसं २०७० को निर्वाचनमा खड्काले एमालेका गौतमलाई पराजित गरेका थिए । खड्का कांग्रेस सङ्खुवासभाका जिल्ला सभापतिसमेत हुन् ।

जिल्लामा प्रतिनिधिसभातर्फ ६५ हजार तीन सय ३७ मत खसेको थियो । त्यसमध्ये दुई हजार सात सय ५७ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रतिनिधिसभामा दुई स्वतन्त्रसहित १२ जनाले उम्मेदवारी दिएका थिए । प्रदेशसभा (१) मा नेकपा (माओवादी केन्द्र) का राजेन्द्र कार्की (नविन) निर्वाचित भएका छन् । कार्कीले १३ हजार चार सय ३३ मत ल्याएर निर्वाचित भएका छन् । उनले ३४ मतान्तरले विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का भविश्वर गुरुङले १३ हजार तीन सय ९९ मत ल्याएका छन् । पाँच गाउँपालिका र एक नगरपालिका रहेको प्रदेशसभा (१) मा ३१ हजार पाँच सय चार मत खसेको थियो ।