राजनीति

झण्डै सातहजार मतान्तरले बिजयी भीम आचार्यको यस्तो छ चौथो संसदीय यात्रा

११ मंसिर, इटहरी । प्रतिनिधिसभा निर्वाचनमा सुनसरी–२ बाट नेकपा (एमाले) स्थायी कमिटी सदस्य भीम आचार्य विजयी भएका छन् । प्रदेश नं १ का पूर्वमुख्यमन्त्रीसमेत रहेका आचार्य ३२ हजार आठ मत ल्याएर फराकिलो अन्तरले विजयी भएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सीताराम मेहताले २६ हजार ५८ मत ल्याए ।

यस्तै प्रदेशसभा २ मा एमालेकै रामप्रसाद महतो १८ हजार एक सय ९१ मतसहित विजयी भउका छन् । कांग्रेसका राजीव कोइरालाले १७ हजार छ सय ३६ मतमात्रै पाए । प्रदेशसभा १ मा एमालेकै रेवती भण्डारी विजयी भइसकेका छन् ।

भीम आचार्यको संसदीय यात्रा

विसं २०५१ यता एमालेबाट सुनसरीमा लगातार संसदीय निर्वाचन लडिरहेका भीम आचार्यले यसपटक क्षेत्र नं २ को टिकट लिएका थिए । सुनसरीको इनरुवा(६ (साविक मधेसा गाविस–९)का स्थायी बासिन्दासमेत रहेका आचार्य विसं २०५१ र २०५६ मा सुनसरी–४ बाट संसदीय यात्रा गर्दा पराजय भोगेका थिए।

विसं २०६४ र २०७० मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनले विजय हासिल गरेका थिए । पहिलोपटक २०६४ को पहिलो संविधानसभा निर्वाचनमा विजयी भएपछि आचार्य एमालेको प्रमुख सचेतक भएर पार्टीमा बलियो भए । दोस्रो संविधानसभामा पुगेपछि सुशील कोइराला नेतृत्वको सरकारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत भए ।

त्यसपछि प्रदेश नं १ को मुख्यमन्त्री बन्न चाहेका आचार्यले २०७४ सुनसरी–१ प्रदेशसभा २ बाट विजयी भए । तर संसदीय दलको नेताको निर्वाचनमा हार व्यहोरे ।

एमालेमा माधवकुमार नेपाल निकट मानिनु हुने आचार्य २०७८ भदौमा पार्टी विभाजन हुँदा एमालेमै बसेर पार्टी संरक्षणमा लाग्नुभयो । त्यसलगत्तै उनलाई पार्टीले मुख्यमन्त्री बनाएको थियो ।

विसं २०१६ मा धनकुटामा जन्मिएका आचार्य व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । राष्ट्रिय राजनीतिमा अब्बल आचार्य विभिन्न देशका विकासका मोडल अध्ययन र अवलोकन गरेका छन् ।

उनले विसं २०३२ देखि विद्यार्थी आन्दोलनमा लागे । विसं २०३९ मा अनेरास्ववियुको नेतृत्व तहमा पुगेर काम गरेका थिए । विसं २०४१ मा राजकाज मुद्दामा दुई वर्ष जेल पनि परे । २०४६ को जनआन्दोलनमा उनी नेकपा (माले)को ‘प्रजातान्त्रिक आन्दोलन समन्वय समिति’ सचिवका रूपमा सक्रिय सहभागी भएपछि उहाँ पार्टी राजनितिमा उदाएका थिए ।

विसं २०४७ मा एमाले गठन भएपछि उनी सुनसरी जिल्ला कमिटी सचिव भए । पार्टीमा सक्रिय उनी २०५४ मा उनी पार्टीको केन्द्रीय सदस्य बन्न सफल भए । विसं २०५७ मा पार्टी केन्द्रीय कार्यालय सचिव र २०५८ मा कोसी अञ्चल इन्चार्ज र प्रदेश स्थापना भएपछि प्रदेश १ को इञ्चार्जको जिम्मेवारी पाए । नवौँ राष्ट्रिय महाधिवेशनबाट पार्टीको केन्द्रीय कमिटी सचिवमा निर्वाचित भएका थिए ।