राजनीति

कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारका विषमया सरकार निर्मम भएर खडा हुन्छ: सभापति लामिछाने

२५ पुस, काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा आफ्नो पार्टीले पाएको मत आशाको भएको बताए।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उनले आफूहरुले प्राप्त गरेको मत निराशाको नभई आशाको भएको बताए । उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका लामिछानेले आफूहरुले पाएको मत जनताले बजाएको घन्टीको ध्वनि भएको स्पष्ट पारे ।

उनले भने, “म यसलाई निराशाको होइन, नेपाली जनताले दिनुभएको आशाका मत चन्न चाहन्छु । सम्पूर्ण राजनीतिक दलमाथि गरिएको आशाको मत हो ।”

उनले नेपाली जनताले जानेर नजानेर राम्रोसँग मत दिएको स्पष्ट पार्दै भने, “नयाँ दललाई नमात्तिने गरी मत दिएको र पुराना दलहरुलाई पनि सच्चिनुपर्छ है भनेर घटाइदिएका छन् ।”

नयाँ पार्टीको उदय नेपाली राजनीतिक लागि ठूलो कुरा नभए पनि जनताले गरेको विश्वास नै सबैभन्दा ठूलो विषय भएको बताए । नेपाली जनताले अपेक्षा गरेअनुसारको काम आफूहरुले सम्पादन गर्ने विश्वास व्यक्त गर्दै लामिछानेले जनमतअनुसारको वर्तमान सरकार बनेको कुरा प्रधानमन्त्रीले पटक–पटक व्यक्त गरेकोसमेत स्मरण गरे ।

उनले नेपाली समाजमा व्याप्त भ्रष्टाचारको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यसका लागि सबैको साथ र सहयोग हुनुपर्ने उनको जोड थियो ।

सरकारको काम कारवाहीका सम्बन्धमा प्रतिपक्षी दलले रचनात्मक सुझाव दिनुपर्ने उल्लेख गर्दै कुनै पनि व्यवधान खडा गर्ने अड्काउन काम नगरी सघाउने हुनेछ भन्ने आशा व्यक्त गरे। सभापति लामिछानेले कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारका विषयमा सरकारले निर्मम भएर छानबिन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, “कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारका विषमया सरकार निर्मम भएर खडा हुन्छ । संसद्ले पनि त्यस्ता भ्रष्टाचारका घटना छानबिनका लागि फाइल खोल्नुपर्छ ।” भ्रष्टाचारको छानविनमा राजनीतिक दल, नेता र सांसदले दबाब र प्रभाव पर्न नहुने उनको कथन छ ।

विधिको शासन पालना गराउन सबैको साथ र सहयोग रहने स्पष्ट पार्दै सभापति लामिछानेले आफ्नो दलका नेता र सांसद पनि गलत काममा सहभागी नहुने र नागरिकलाई दुःख नदिने स्पष्ट पारे।