राजनीति

प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल

२८ पौस, काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ भएको भेटका क्रममा मन्त्रिपरिषद् विस्तारका बारेमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार सङ्घीय र प्रदेश सरकारको मन्त्रालय भागबण्डा, सभामुख, उपसभामुख, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको हो ।

अहिले सातवटै प्रदेश सरकार बनिसकेको छ । अब सङ्घीय मन्त्रिपरिषद्लाई पूर्णता दिने र सँगसँगै प्रदेश सरकारलाई पनि पूर्णता दिन बाँकी छ । बुधबार मात्रै प्रधानमन्त्री दाहाल गोरखाबाट फर्किएपछि अध्यक्ष ओलीसँग भेट गरी मन्त्रिपरिषद् विस्तारलगायत विषयमा छलफल गरेका थिए।

प्रधानमन्त्री दाहालले प्रतिनिधिसभाबाट मङ्गलबार दुई तिहाइ बढी विश्वासको मत प्राप्त गरेका थिए । प्रतिनिधिसभामा भएको विश्वासको प्रस्तावको मतदानमा उहाँको पक्षमा दुई सय ६८ र विपक्षमा दुई मत परेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले माओवादी केन्द्रका अध्यक्ष दाहाललाई यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् । विश्वासको मत पाएपछि  मन्त्रिपरिषद्लाई पूर्णता दिने गृहकार्य सुरु भएको छ । 

यही पुस ११ गते उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्रीले सपथ लिएका थिए । त्यस्तै राजेन्द्र राई, ज्वालाकुमारी साह र दामोदर भण्डारी विना विभागीय मन्त्रीले पनि सपथ लिएका थिए । 

आजको बालुवाटार वार्तामा विनाविभागीय मन्त्रालयको टुङ्गो लगाउने र बाँकी १७ वटा मन्त्रालय बाँडफाँटमा सहमति जुटाउनेबारे छलफल भएको थियो । दुई नेताबीचको छलफलपछि सत्ता साझेदार दलको बैठक बस्नेछ । त्यो बैठकमा अन्य दलका मन्त्रीहरूको पनि टुङ्गो लगाउने तयारी छ ।