राजनीति

सरकारको आयुबारे शङ्का गर्नुपर्ने ठाउँ छैनः अध्यक्ष ओली

२ माघ, काठमााडौं । मन्त्रिपरिषद् विस्तारसहितका विभिन्न विषयमा निर्णय गर्न आज साँझ सत्तारूढ दल सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने भएको छ ।

आज बालकोटस्थित नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली निवासबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग छोटो कुरा गर्दै उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले मन्त्रिपरिषद् विस्तारसहितका विषयमा निर्णय गर्नका लागि आज साँझ ५ बजे सत्तारूढ दल सम्मिलित उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्न लागेको जानकारी दिएका हुन् ।

प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भइरहेको भेटवार्ताकै बीचमा ओली निवास पुग्नुभएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेल प्रधानमन्त्री बालकोटबाट फर्किएपछि ओलीसँग पुनः छलफल गरी बालकोटबाट फर्कने क्रममा बालकोटमा भएको शीर्ष नेताबीचको छलफलपछि साँझ उच्चस्तरीय संयन्त्रको बैठक बस्न लागेको जानकारी दिएका हुन् ।

सरकार जे जस्तो राजनीतिक दलको सहमतिमा अगाडि बढेको छ त्यही गतिका साथ द्रूत रूपमा अगाडि बढ्ने उल्लेख गर्दै उनले सरकारको आयुको बारेमा शङ्का गर्नुपर्ने कुनै ठाउँ नभएको बताए । “प्रधानमन्त्री र उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकबीचको भेटघाट सम्पन्न भएको छ”, उनले सञ्चारकर्मीलाई भने, “आजै साँझ ५ बजे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्दैछ । जे जस्ता कार्यसूचीहरू बाँकी छन्, त्यसमा एकसरो गृहकार्य भएको छ । छिट्टै सबै विषयमा आवश्यक निर्णय हुन्छ ।”

उपप्रधान पौडेलले सत्ता साझेदार दल सबै एक ठाउँमा भएको भन्दै सत्ता गठबन्धनमा कुनै समस्या नभएको बताए । भोलि मङ्गलबार विश्वासको मत दिने दलहरूसँग बैठक बस्न लागेको भन्दै उनले त्यहाँ अन्य दलको विचार पनि सुन्ने र पार्टीका कुरा पनि राख्ने बताए ।