समाचार

राष्ट्रिय सभाको उपाध्यक्षमा उम्मेदवारी दिने कांग्रेसको निर्णय

१९ माघ, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षको निर्वाचनमा उम्मेदवारी दिने भएको छ । सभापति शेरबहादुर देउवाको निजी निवास धुम्बाराहीमा बिहीबार बिहान बसेको संसदीय कार्यसमिति बैठकले सो निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

बैठकले राष्ट्रिय सभामा रहेका अन्य राजनीतिक दलहरूसँग समन्वय र परामर्श गर्न सभापति देउवालाई जिम्मेवारी दिएको छ । बैठकले राष्ट्रिय सभाको उपाध्यक्षको निर्वाचनमा कांग्रेसकातर्फबाट उम्मेदवारी दिने निर्णय भएको लेखकले बताए ।

उनले भने, ‘हामीले उम्मेदवारी दिन्छौं, त्यसैको तयारीबारे छलफल भयो । साथै राष्ट्रिय सभामा रहेका अन्य राजनीतिक दलहरूसँग समेत छलफल गरेर सकेसम्म कांग्रेसको उम्मेदवारलाई विजयी गराऔं भन्ने हाम्रो प्रयास हुन्छ ।’

राष्ट्रिय सभाले २३ माघमा उपाध्यक्षको निर्वाचन गर्ने कार्यतालिका तोकेको छ । त्यसका लागि २२ माघमा उम्मेदवारी मनोनयनको कार्यक्रम छ । राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दाहालको गतवर्ष फागुन २१ मा कार्यकाल सकिएको हो ।

त्यस्तै, माघ २६ गते संसदीय दलको बैठक बोलाएको छ । बैठक माघ २६ गते बानेश्वसरस्थित ल्होत्से भवनमा बस्नेछ ।