स्वास्थ्य

फागुनको पहिलो साता बाइभलेन्ट खोप नेपाल आउँदै

२४ माघ, काठमाडौँ । सरकारले कोरोनाको नयाँ भेरियन्ट (ओमिक्रोन)नियन्त्रणमा समेत काम गर्ने भनिएको फाइजरको नयाँ खोप (बाइभलेन्ट) खोप फागुनको पहिलो साता नेपाल आउने जनाएको छ ।

कोभ्याक्सको काम गरिरहेको गाभी मार्फत १५ लाख डोज फाइजरको नयाँ खोप ल्याउन लागेको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख सुरेन्द्र चौरसियाले जानकारी दिए ।

उनका अनुसार फागुन १ गतेदेखि ४ गतेसम्म आउने कार्य तालिका रहेको छ । छिमेकी देशमा चीनमा ओमिक्रोनको उपप्रजाति बी.एफ. ७ फैलिरहेकाले सरकारले बुस्टर खोप लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गर्दै आएको छ । विज्ञका अनुसार ओमिक्रोनका सबभेरिन्यटको सङ्क्रमणलाई रोक्न बाइभलेन्ट खोप बढी प्रभावकारी छ ।

खोपको पूर्ण मात्रा पूरा गरिसकेका व्यक्तिमा ६ महिनाभन्दा बढी समय बित्दै जाँदा खोपको रोग प्रतिरोधात्मक क्षमतामा पनि क्रमशः ह्रास हुँदै जान्छ ।

नेपालमा पनि तेस्रो डोज लगाएका एक वर्षभन्दा बढी भइसकेकाले पुनः खोप दिनुपर्ने आवश्यकता भएको सङ्क्रामक रोग विशेषज्ञ डा।प्रभात अधिकारी बताउँछन् ।