आर्थिक

भारतलाई हराउँदै नेपाल फाइनलमा

२४ माघ, काठमाडौं । नेपाल बङ्गलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।

ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा मंगलबार भारतलाई ३-१ गोल अन्तरले हराउँदै नेपाल फाइनलमा पुगेको हो ।

पहिलो हाफमा १ गोलले पछि परेको नेपालले दोस्रो हाफमा पुनरागमन गर्दै ३ गोल गर्‍यो । खेलको २१औं मिनेटमा अपूर्व नाजारीले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन् ।

तर ४७औं मिनेटमा अन्जली चन्दले नेपालका लागि बराबरी गोल गर्दै खेलमा फर्काइन् । कप्तान प्रीति राईले ६८औं मिनेटमा पेनाल्टी मार्फत गोल गर्दै नेपाललाई २-१ को अग्रता दिलाइन् । अग्रता बनाएपछि भारतमाथि हाबी भएको नेपालका लागि अमिसा कार्कीले ८९औं मिनेटमा गोल गर्दै ३-१ को जित दिलाइन् ।

पहिलो खेलमा बंगलादेशसँग ३-१ ले पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई ४-० ले पराजित गरेको थियो । नेपालले तीन खेलबाट दुई जित र एक हारसहित ६ अंक जोड्यो ।

भारतले भने एक जित एक हार र एक बराबरीबाट ४ अंक मात्र जोड्न सक्यो । हारपछि भारत भने फाइनल होडबाट लगभग बाहिरिएको छ । भारतले फाइनल पुग्ने हो भने आजै हुने अर्को खेलमा भुटानले बङ्गलादेशलाई अनिवार्य पराजित गर्नुपर्नेछ ।

तर यसअघिका दुई खेल हार्दै बाहिरिइसकेको भुटानले बङ्गलादेशलाई हराउनु निकै चुनौतीपूर्ण छ ।

नेपाल फाइनल पुगेको यो दोस्रो पटक हो । सन् २०१८ मा पहिलो पटक भएको च्याम्पियनसिपमा नेपाल फाइनलमा बंगलादेशसँग पराजित भएको थियो ।