समाचार

प्रहरी महानिरीक्षक सिंह स्वदेश फिर्ता

२९ माघ, काठमाडौं । प्रहरी महानिरीक्षक धीरजप्रताप सिंह इन्टरपोलको २४औँ एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी भई आज स्वदेश फिर्ता भएका छन् । संयुक्त अरब इमिरेट्सको अबुधाबीमा यही २४ गतेदेखि सुरु भएको इन्टरपोलको २४औँ एसियाली क्षेत्रीय सम्मेलनमा नेपालका तर्फबाट प्रहरी महानिरीक्षक सिंहको नेतृत्वको टोली सहभागी भएको थियो ।

उनले उक्त सम्मेलनमा एसियाली राष्ट्रका प्रहरी सङ्गठन मजबुत बनाउने र इन्टरपोललाई थप सक्रिय बनाउने विषयमा छलफल भएको जानकारी दिए । प्रहरी महानिरीक्षक सिंहले एसियाली देशहरूबाट आतङ्कवाद निर्मूल पार्ने, मानव बेचबिखन नियन्त्रण तथा पछिल्लो समयमा विश्वव्यापी समस्याका रुपमा देखापरेको साइबर अपराध र साइबर सुरक्षामा एकताबद्ध अघि बढ्ने विषयमा छलफलमा भएको जानकारी दिए ।

इन्टरपोल स्थापना भएको सय वर्ष पूरा भएको अवसरमा सदस्य राष्ट्रले यसलाई विशेष रुपमा मनाउने निर्णय गरिएको र नेपाल सयौँ सदस्य राष्ट्रसमेत भएकाले सोही अवसरमा नेपाल प्रहरीले आइजिपी रनिङ शिल्ड फुटबल प्रतियोगिता आयोजना गरिसकेको पनि उनले बताए ।

हाल इन्टरपोलको प्रतिनिधित्व गर्दै नेपाल प्रहरीका दुई अधिकृतहरू सिङ्गापुर र लियोनमा कार्यरत रहेको स्मरण गर्दै उनले नेपाल प्रहरीकै लागि गौरवको विषय भएको बताए । महानिरीक्षक सिंहले नेपाल प्रहरी इन्टरपोलको सदस्य भएकै कारण गल्फलगायत विभिन्न देशमा लुकेर रहेका अभियुक्तहरूलाई इन्टरपोलको सहायताबाट पक्राउ गरेर ल्याउन सफल भएको पनि बताए ।