राजनीति

देशका लागि गम्भीर भएर सोच्ने बेला आएको छ : अध्यक्ष बिजुक्छे

भक्तपुर, ४ फागुन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले विदेशी चलखेलबाट देशलाई बचाउन आवश्यक रहेको बताएका छन् । सत्ताधारी दलले कुर्सीका लागि मात्रै नभई देशका लागि गम्भीर भएर सोच्ने बेला आएको उनको भनाइ थियो ।

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वपः माध्यमिक विद्यालयको २३औँं, ख्वपः कलेजको २१औँ, शारदा क्याम्पसको ३२औँ र ख्वपः कलेज अफ लको स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित दुइदिने शैक्षिक प्रदर्शनी एवं पुरस्कार वितरण कार्यक्रममा उहाँले सो धारणा व्यक्त गरेका हुन् ।

कार्यक्रमका सभापति भनपाका प्रमुख सुनिल प्रजापतिले नगरपालिकाले ख्वपः कलेज, ख्वपः कलेज अफ ल समेत गरी हाल आठवटा कलेजमा देशभरिका ७२ वटा जिल्लाका करिब सात हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको बताए ।

नगरपालिकाले यहाँका विद्यार्थीलाई हरेक वर्ष रु तीन करोड बराबरको छात्रवृत्ति, रु पाँच लाखसम्मको शैक्षिक ऋणको व्यवस्था, नेपाल भाषा, इतिहास, भूगोल, संस्कृति र राजनीतिशास्त्र विषयमा विद्यावारिधिसम्म अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्दै आएको बताए ।

यसैबीच ख्वपः कलेज देकोचामा सञ्चालित दुईदिने शैक्षिक प्रदर्शनी आज सम्पन्न भएको छ । प्रदर्शनीमा सय स्टल र ११ कक्षादेखि स्नातकोत्तर तहसम्मका दुई हजार भन्दा बढी विद्यार्थी सहभागी भएका कलेजका प्राचार्य रुपक जोशीले जानकारी दिए ।