राजनीति

माओवादी पदाधिकारी बैठक सम्पन्न, राष्ट्रपतिको निर्वाचनबारे निर्णय गर्ने अधिकार दाहाललाई

८ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रकोआज बसेको पदाधिकारी बैठकले राष्ट्रपति निर्वाचनबारे पार्टीको निर्णय गर्ने अधिकार अध्यक्ष दाहाललाई दिएको छ ।

बैठकले २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा पार्टीले लिने निर्णयको अधिकार पार्टी अध्यक्ष तथा प्रधानमन्त्री दाहाललाई दिएको प्रवक्ता तथा पार्टी उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिएका हुन् ।

उनले पुस १० भन्दा अहिले राजनीतिक परिस्थिति फेरिएको भन्दै गणतन्त्र, संविधानको रक्षा र शान्तिप्रक्रिया टुंगो लगाउने विषय माओवादी केन्द्रको स्वार्थ रहेको समेत बताए । उनले यी स्वार्थमा जोसँग मिल्छ त्यससँग सहकार्य हुने जानकारी दिएका हुन् ।

महराले भने ,’हामीले राष्ट्रिय सहमति भनेका छौं । त्यसका लागि उम्मेदवारी दिने बेलासम्म कोसिस हुन्छ ‘। उनका अनुसार आजको बैठकमा अहिलेसम्म विभिन्न दलहरुसँग भएका वार्ताको बारे अध्यक्ष दाहालले बैठकलाई ब्रिफिङ गरेका थिए ।