आर्थिक

मुरारका ग्रुप र सोमानी सेरामिक्सको सहकार्य

१५ फागुन, काठमाडौं । नेपालको प्रख्यात व्यावसायिक समूह मुरारका ग्रुपले भारतको प्रसिद्ध सोमानी सेरामिक्ससँगको संयुक्त लगानीमा टायल उत्पादन केन्द्र स्थापना गर्ने भएको छ ।

मुरारका ग्रुप र सोमानीबीचको यो संयुक्त उद्यमले नेपालमा करिब ३.० मिलियन स्क्वाएर मिटर वार्षिक क्षमताको टाइल उत्पादन केन्द्र सञ्चालन र व्यवस्थापन गर्ने भएको हो ।

काठमाडौंको म्यारियट होटलमा संचारकर्मी तथा कम्पनीका प्रतिनिधिहरुको उपस्थितिमा आज आयोजित एक पत्रकार सम्मेलनमा उक्त सहकार्यको बारेमा जानकारी दिइएको हो ।

यस बारेमा बोल्दै मुरारका ग्रुपका म्यानेजिब डिरेक्टर पशुपति मुरारकाले भने, “मुरारका ग्रुप आफ्ना ग्राहकहरूलाई सदैव गुणस्तरीय उत्पादन र सेवाहरू प्रदान गर्न प्रतिबद्ध छ । यस सहकार्यले नेपाली बजारमा देखिएको गुणस्तरीय टाइलको आवश्यकतालाई परिपुर्ति गर्नेछ भन्ने हामीले विश्वास लिएका छौँ । साथसाथै नेपाली बजारमै रोजगारीको सिर्जना गर्दै देशको आर्थिक विकासमा समेत महत्त्वपूर्ण टेवा पुग्नेछ भन्ने हामीले विश्वास लिएका छौँ ।”