अन्तर्राष्ट्रिय

अपहरणमा परेका १४ जनाको उद्धार

२१ फागुन, एजेन्सी । नाइजेरियाको उत्तरी राज्य कादुनामा अपहरणमा परेका १४ जनाको उद्धार गरिएको समाचारमा जनाएको छ । सो राज्यमा यहाँका सशस्त्र समूहले १४ जना सर्वसाधारण नागरिकलाई अपहरण गरी लगेका थिए ।

बन्धक बनाएर राखिएको अवस्थामा उनीहरूलाई नाइजेरियाली सुरक्षा फौजले उनीहरूलाई उद्धार गरेको समाचारमा जनाइएको हो । कादुना क्षेत्रमा नाइजेरियाका बोको हराम आतङ्ककारी समूहको प्रभाव रहेको बताएको छ । ती १४ जनालाई पनि उनीहरूले नै अपहरण गरेर लगी बन्धक बनाएका प्रहरीको भनाई छ ।

सो क्षेत्रमा नाइजेरियाली संयुक्त सुरक्षा फौजले केही महिनादेखि सशक्त कारबाही अघि बढाएको छ । त्यसै क्रममा उनीहरूलाई अपहरणमुक्त गरेको बताएको छ । नाइजेरियाको कादुना राज्यका प्रहरी प्रमुखले सो कुराको जानकारी दिएका छन् । उनले ती १४ जनालाई कहिले उद्धार गरिएको हो भन्ने बारेमा भने जानकारी दिएका छैनन् ।उनीहरूको उद्धारका क्रममा भएको सुरक्षा कारबाहीमा परेर एक जना अपहरणकारीको ज्यान गएको र अरू केही भागेका उनले जनाएका छन् ।