अन्तर्राष्ट्रिय

यमनमा पोलियो विरुद्धको खोप अभियान सुरु

२२ फागुन,एजेन्सी । यमनको युद्धग्रस्त क्षेत्रमा पछिल्ला केही समययता पोलियो रोगको समस्या देखिएकाले यहाँको सरकारले यसका विरुद्धमा पोलियो खोप अभियान सुरु गरेको छ ।
यमन सरकारले युद्धग्रस्त क्षेत्रहरुमा देखिएको पोलियोको प्रकोप नियन्त्रणका लागि सो अभियान राष्ट्रव्यापी रुपमा नै सञ्चालनमा ल्याएको बताएको छ ।

यो अभियान यहाँको आडेन क्षेत्रका १२ लाख भन्दा बढी बालबालिकालाई लक्षित गरिएको बताएको छ । सो क्षेत्रका पाँच वर्ष मुनिका ती बालबालिकालाई पहिलो चरणमा यो अभियानमार्फत् पोलियोको खोप लगाइने छ ।

आडेन यहाँको बढी द्वन्द्व चर्किएको क्षेत्र हो । यस क्षेत्रका पनि गाउँ गाउँमा स्वास्थ्य संरचना एवं औषधिको अभावमा पोलियोको असर देखिएको र यो फैलिन सक्ने अवस्था पनि रहने भएकाले त्यसलाई मध्यनजर गर्दै पोलियो विरुद्धको खोप अभियान सञ्चालन गरिएको बताएको छ ।

साउदी अरेबियाको सहयोग रहेको यमनको सरकारले अहिले यहाँका १२ ओटा प्रान्तमा यो अभियान सञ्चालन गरिरहेको र यसका लगि सयौँ स्वास्थ्य कार्यकर्ता खटाइएको छ ।
ती स्वास्थ्यकर्मीहरुले आडेन सहर र यसको वरपरका क्षेत्र र ग्रामीण क्षेत्रहरुमा घर घरमा पुगेर बालबालिकालाई पोलियोविरुद्धको खोप लगाउने गरेका छन् ।