अन्तर्राष्ट्रिय

छात्राहरूलाई लक्षित गरी विषाक्त पदार्थ प्रयोग गर्नेलाई कडा सजाय दिन निर्देशन

२२ फागुन, एजेन्सी। इरानका सर्वोच्च नेता अयातुल्ला अली खामेनीले हालैका महिनाहरूमा छात्राहरूविरूद्ध विषाक्त पदार्थ प्रयोग गर्नेलाई ‘कडा सजाय’ दिनुपर्ने बताएका छन् ।
इरानका ५२ भन्दा बढी विद्यालयमा गत नोभेम्बरको अन्त्यदेखि अहिलेसम्म ग्यास विषाक्तताका सयौं घटना भएका छन् ।

महिला विद्यार्थीहरूले ‘अप्रिय’ वा ‘अज्ञात’ गन्धपछि सास फेर्न गाह्रो हुने, वाकवाकी लाग्ने र चक्कर लाग्ने जस्ता लक्षणहरू देखा परेको बताएका छन् । यसले आमाबाबुमा डर पैदा गरेको छ । घटनाप्रति चिन्ता व्यक्त गर्दै सर्वोच्च नेता खामेनीले अधिकारीहरूलाई आक्रमणकारी समूहविरूद्ध तत्काल कारबाही गर्न गर्न आग्रह गरेका छन्।

“यदि विषाक्तता प्रमाणित भयो भने, यो अक्षम्य अपराध हुनेछ र अपराधीहरूलाई कडा सजाय दिनुपर्दछ,” खामेनीले रहस्यमय विषाक्तताको बारेमा आफ्नो पहिलो सार्वजनिक भनाइमा उल्लेख गरेका छन्।

न्यायपालिकाका प्रमुख घोलामहुसेन मोहसेनी एजेईले सोमबार विद्यालयका छात्रालाई विष खुवाएको आरोपमा पक्राउ परेका व्यक्तिलाई ‘जन्मभूमिविरूद्धको भ्रष्टाचार’ अभियोगमा मुद्दा चलाइने बताएका छन् ।

इरानी अधिकारीहरुले अहिलेसम्म कसैलाई पनि पक्राउ गरिएको घोषणा गरेका छैनन् ।

आइतबार राति इरानी राष्ट्रपति इब्राहिम राईसीले विषाक्तताका कारण केही बालिकालाई अस्पताल भर्ना गरिएको घटनाको निन्दा गर्दै इरानका ‘शत्रुहरूको नयाँ षडयन्त्र’ भएको बताएका थिए।

उनले विद्यार्थी, बालबालिका र उनीहरूका अभिभावकको मनमा डर पैदा गर्ने उद्देश्यले यस्तो कदम चालेको बताए।

यसैबीच, अधिकारीहरूले कोमन्यूज वेबसाइटका लागि विषाक्त आक्रमणको रिपोर्टिङ गरिरहेका इरानी पत्रकार अली पोर्तबाटाबेईलाई सोमबार पक्राउ गरेको एतेमाद पत्रिकाले जनाएको छ ।
तेहरानको दक्षिणमा रहेको कोम शहरमा गत नोभेम्बरको अन्त्यमा विषाक्तताको पहिलो घटना भएको बताइएको छ ।

पूर्वी शहर कुचानमा सोमबार दर्जनौं छात्राले ‘अप्रिय गन्ध’को महशुस गरेको केहीबेरमा स्वास्थ्य समस्या आएको र उनीहरूलाई अस्पताल लगिएको थियो । आइतबार दक्षिणपश्चिमी प्रान्त खुजेस्तानमा ७०० भन्दा बढी यस्तै घटना भएको इटेमादले जनाएको छ ।

गत हप्ता उपस्वास्थ्यमन्त्री युनेस पानाहीले बालिकाको शिक्षाको अधिकारलाई बञ्चित गर्ने उद्देश्यले आक्रमण गरिएको बताए।