अन्तर्राष्ट्रिय

युद्धकालमा जापानबाट पिडितलाई क्षतिपूर्ति दिलाउने दक्षिण कोरियालीे घोषणाको अमेरिकाद्वारा स्वागत

२२ फागुन, एजेन्सी। युद्धकालमा जापानले जबर्जस्ती श्रममा लगाएका दक्षिण कोरियाली पीडित र उनीहरूका आफन्तलाई क्षतिपूर्ति दिने दक्षिण कोरियाको घोषणालाई संयुक्त राज्य अमेरिकाले प्रशंसा गरेको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सोमबार सम्झौतालाई दुई अमेरिकी सहयोगीबीचको ‘ऐतिहासिक सफलता’को संज्ञा दिएका छन्।

सियोलको तथ्याङ्कअनुसार ३५ वर्षको अवधिमा जापानले करिब सात लाख ८० हजार कोरियालीलाई जबर्जस्ती श्रममा संलग्न गराएको थियो। सन् १९१० देखि १९४५ सम्म कोरियाली प्रायद्वीपमा जापानको औपनिवेशिक शासनका कारण दक्षिण कोरिया र जापानबीचको सम्बन्ध लामो समयदेखि तनावपूर्ण रहँदै आएको छ ।

दक्षिण कोरियाली विदेशमन्त्री पार्क जिनले सन् १९६५ मा टोकियोसँग भएको क्षतिपूर्ति सम्झौताबाट लाभान्वित भएका प्रमुख दक्षिण कोरियाली कम्पनीहरूबाट रकम लिने र त्यसलाई पीडितलाई क्षतिपूर्ति दिन प्रयोग गर्ने सियोलको योजना रहेको बताए।

यद्यपि, पीडितहरूले यो प्रस्तावको आलोचना गरेका छन् किनभने यो टोकियोबाट पूर्ण माफी माग्ने र यसमा संलग्न जापानी कम्पनीहरूबाट प्रत्यक्ष क्षतिपूर्तिको मागभन्दा धेरै कम छ ।

सियोलले आणविक शक्ति सम्पन्न उत्तर कोरियाको सामना गर्ने उपायको रूपमा टोकियोसँग घनिष्ठ सम्बन्ध बनाउन खोजेको छ र संयुक्त राज्य अमेरिकाले दक्षिण कोरिया र जापानसँगको त्रिपक्षीय सम्बन्धलाई इन्डो–प्यासिफिक क्षेत्रीय स्थिरताको लागि महत्वपूर्ण कदमको रूपमा वर्णन गरेको छ ।

बाइडेनले ट्वीटरमा लेख्नुभएको छ, “हाम्रा दुई निकटतम सहयोगी जापान र गणतन्त्र कोरिया ऐतिहासिक सफलतामा पुगेका छन् ।

उनले लेखेका छन् , “हामी सबै सुरक्षित र समृद्ध भविष्यतर्फ अघि बढिरहेका बेला संयुक्त राज्य अमेरिका दुवै देशका जनताको साथमा उभिएको छ ।”

यसअघि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले वासिङ्टनले सियोल र टोकियोको साहस र दूरदृष्टिको प्रशंसा गरेको र यस महत्वपूर्ण उपलब्धिको प्रशंसामा सहभागी हुन अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका थिए।