समाचार

राससका पूर्व समाचारदाता श्रेष्ठसहित २ जनाको निधन

२५ फागुन, काठमाडौँ । सडक दुर्घटनामा परेर राष्ट्रिय समाचार समिति (रासस) का पूर्व समाचारदाता पवनलाल श्रेष्ठको निधन भएको छ । उनको गए राति काठमाडौँको शङ्खरापुर नगरपालिका साँखुस्थित इन्द्रायणीमा टिपरको ठक्करबाट ज्यान गएको हो । उक्त दुर्घटनामा अर्का एक व्यक्तिको समेत मृत्यु भएको छ । 

गए राति साँखु–जोरपाटी सडक खण्डमा साँखुबाट ब्रह्मखेल जाँदै गरेको बा५ख २४१४ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको बा९४प ४४९८ र बा८२प ८३५७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु भएको हो । दुर्घटनामा शङ्खरापुर नगरपालिका–७ साँखुका ५० वर्षीय पत्रकार श्रेष्ठ र सोही नगरपालिका–९ का २२ वर्षीय हरि खड्काको मृत्यु भएको हो । दुर्घटनामा घाइते पत्रकार श्रेष्ठको नेपाल मेडिकल कलेज अत्तरखेलमा तथा खड्काको शङ्करापुर अस्पताल साँखुमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए।

दुर्घटनामा २० वर्षीय पुनम श्रेष्ठ घाइते भएकी छिन । उनको धापासी स्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको प्रवक्ता रिजालले बताए। मृतक श्रेष्ठ साँखुबाट प्रकाशित लावण्य सन्देश साप्ताहिकका प्रधान सम्पादक थिए। उनी नेपाल प्रेस युनियन साँखु शाखाका संस्थापक अध्यक्षसमेत थिए।

दुर्घटनापछि फरार टिपर चालक २६ वर्षीय दिनेश तामाङलाई प्रहरीले राति नै सिन्धुपाल्चोकबाट पक्राउ गरी काठमाडौँ ल्याएको छ । घटनाबारे प्रहरी वृत्त गौशालाले अनुसन्धान गरिरहेको प्रवक्ता रिजालले बताए।