२७ फागुन, काठमाडौँ । सत्तारुढ गठबन्धनले उपपराष्ट्रपतिको उम्मेदवारमा साझा सहमती जुटाउन नसकेकाले छुट्टा छुटटै उम्मेदवारी मनोनयन दर्ता गर्ने भएका छन् ।
प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले उपपराष्ट्रपति पदको लागि साझा उम्मेदवारको सहमती जुटान सकेन । तसर्थ जनता समाजवादी पार्टी (जसपा)बाट २ जना (एक महिला र एक पुरुस) उम्मेदवार मनाेनय दर्ता गर्ने भएको छ भने जनमत पार्टीबाट ममता झालाई महिला उम्मेदवार मनाेनय दर्ता गर्ने निर्णय भएको जनमत पार्टीका अध्यक्ष सिके राउतले जानकारी दिए।
राष्ट्रपति पुरुष भएपछि उपराष्ट्रपति महिला हुनुपर्ने प्रावधान संविधानमा नै उल्लेख भएकाले झालाई महिला उम्मेदवार बनाउने विषयमा सत्तारुढ दलकाबीच सहमति भएको राउतले जानकारी दिए।
“आज तीन जनाको उम्मेदवारी दर्ता गर्ने र आइतबारसम्म छलफल गरेर एउटै उम्मेदवार कायम गर्ने सहमति भएको छ”, उनले भने । आयोगले उपराष्ट्रपतिमा महिला नै हुनुपर्ने भनेकाले कुनै जोखिम नलिइ आज तीन जनाको उम्मेदवारी दर्ता गर्ने निर्णय भएको अध्यक्ष राउतले बताए।
निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचनका लागि आज उम्मेदवारी दर्ता गर्ने समयसीमा तय गरेको छ । गठबन्धनले जसपा नेता रामसहायप्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर आयोगले पुरुष राष्ट्रपति भएपछि महिला नै उपराष्ट्रपति हुनुपर्ने जनाएपछि आज पुनःछलफल गरी अन्तिम निष्कर्ष दिने सो पार्टीले जनाएको छ ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलगायत शीर्ष नेताको सहभागिता थियो ।





