अन्तर्राष्ट्रिय

पूर्वअमेरिकी राष्ट्रपतिविरुद्ध फौजदारी अभियोग

१७ चैत्र, न्युयोर्क । पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध फौजदारी अभियोग लागेको छ । वर्षौको अनुसन्धानपछि म्यानहाटनको ग्रान्ड जुरीले उनलाई फौजदारी अभियोग लगाएको हो ।

फौजदारी अभियोगबारे ग्रान्ड जुरीले स्पष्ट नगरे पनि विवाहेत्तर यौन सम्बन्धलगायत दुई दर्जन मुद्दा पूर्वराष्ट्रपतिलाई लाग्ने सञ्चारमाध्यमहरूले जनाएका छन् । जुरीको उक्त निर्णयसँगै उनको राजनीतिक एवम् व्यापारिक कारोबार प्रभावित हुनाका साथै पुनः राष्ट्रपतिमा लड्ने उनको योजना चकनाचुर भएको छ ।

सन् २०१६ को राष्ट्रपतीय निर्वाचन अघि ट्रम्पले अश्लिल चलचित्रकी नायिका स्टर्मी डेनियलसँग कायम गरेको यौनसम्बन्ध र त्यसलाई गोप्य राख्न उनलाई भुक्तान गरिएको एक लाख ३० हजार अमेरिकी डलरलाई मुख्य मुद्दा बनाइएको जनाइएको छ । ट्रम्पविरुद्धका मुद्दाको विस्तृत विवरण सार्वजनिक गरिएको छैन । डेनियलले पनि आफूलाई ट्रम्पले मौन रहन रकम दिएको दाबी गरेकी छन् ।

पूर्वराष्ट्रपति ट्रम्पले आफूमाथि लगाइएको उक्त आरोपको खण्डन गरेका छन् । उनले आफूमाथि लगाइएको आरोपलाई राजनीतिक स्वार्थबाट प्रेरित भनेका छन् । उनका छोरा एरिकले आसन्न राष्ट्रपतिको चुनावलाई लक्ष्य गरेर विपक्षीले उक्त आरोप लगाएका बताएका छन् ।

म्यानहाटनस्थित सरकारी वकिलको कार्यालयले पूर्वराष्ट्रपतिको आत्मसमर्पणको सहजीकरणका निम्ति उनका वकिलसँग सम्पर्क गरिएको बताएका छन् । हाल फ्लोरिडामा रहेका उनी आगामी मङ्गबार न्युयोर्कको अदालतमा उपस्थित हुने अपेक्षा गरिएको छ । अदालतमा उनले आफू निर्दोष रहेको दलिल प्रस्तुत गर्दै अपील गर्ने सम्भावना छ । उनलाई अदालतले धरौटीमा रिहा गर्ने सम्भावना पनि रहेको छ । शुक्रबार नै उनीलाई आत्मसमर्पण गर्न भनिएको थियो तर उनका वकिलहरूले केही समय माग गरेका थिए ।

अमेरिकाको इतिहासमा पूर्वराष्ट्रपतिलाई फौजदारी अभियोग लागेको यो पहिलो घटना हो ।