अन्तर्राष्ट्रिय

छ दिनसम्म अन्नपानी नपाएका आठ जना मछुवारा डुबेको आशङ्का

६ बैशाख, एजेन्सी । गत शुक्रबार उत्तरपश्चिमी अष्ट्रेलियाको समुद्री तटमा शक्तिशाली चक्रवातमा फसेका इण्डोनेशियाका आठ जना मछुवाराले अन्नपानी बिना एउटा टापुमा छ दिन बिताएपछि जलसमाधि लिएको आशङ्का गरिएको छ ।

अष्टे«लियामा आठ वर्षयता आएको सबैभन्दा शक्तिशाली चक्रवात इल्सामा परेका ती मछुवाराले आफूसँग अन्नपानी नहुँदा र आफ्नो डुङ्गासमेत डुबेपछि जीवन नै त्याग गरेका हुनसक्ने अष्ट्रेलियाली समुद्री सुरक्षा प्राधिकरणले बाँचेका मछुवारालाई उद्धृत गर्दै जनाएको छ । पुत्रीजया नामको डुङ्गा हिन्द महासागरमा डुबेको र त्यसमा सवार एक जनालाई तीस घण्टापछि उद्धार गरिएको थियो ।

एक्सप्रेस वान नाम गरेको अर्को डुङ्गाका मछुवारा भने आफ्नो वाहन डुबेपछि टापुमा बसिरहेका बेला नियमित हवाई गस्तीमा रहेको अस्ट्रेलियाली सीमा बलले उनीहरूलाई देखेको थियो । समुद्रीमार्ग भएर गैरकानुनी गतिविधि सञ्चालन गर्न उनीहरू त्यहाँ बसेको ठानेर हेलिकप्टरमा त्यहाँ गएका सुरक्षाकर्मीले आपतमा परेका उनीहरूलाई उद्धार गरेको थियो ।