गण्डकी प्रदेश

ताकमकोतमा हनुमानको मूर्ति

१० बैशाख, म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–७ मा रहेको ऐतिहासिक ताकमकोतमा करिब रु ३० लाखको लागतमा हनुमानको मूर्ति स्थापना गरिएको छ ।

धार्मिक पर्यटकीय हिसाबले प्रशस्त सम्भावना बोकेको ताकमकोतको आकर्षण बढाउन हनुमानको मूर्ति राखिएको हो । धवलागिरि गाउँपालिका–७ ताकमका वडाध्यक्ष अशोक खत्रीले १२ फिट अग्लो हनुमानको मूर्ति राखिएको जानकारी दिए।

“ललितकला केन्द्रका प्रमुख नरेन्द्रराज भण्डारीको नेतृत्वमा हनुमानको मूर्ति बनाइएको हो”, उनले भने, “काठमाडौँबाट मूर्ति ल्याएर जडान गर्ने काम सकिएको छ । हनुमानको मूर्तिले ताकमकोतको आकर्षण बढाएको छ ।”

मूर्ति स्थापनाका लागि धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०७९÷८० मा रु तीन लाख ५० हजार विनियोजन गरेको थियो । मूर्ति स्थापनाका लागि रु २९ लाख २७ हजार पाँच सय खर्च भएको र दाताबाट रु २४ लाख ४० हजार सहयोग जुटेको छ ।

अमेरिकामा रहनुभएका ताकमका रघुनाथ सुवेदीको अगुवाइमा मूर्ति स्थापनाका लागि आर्थिक सहयोग सङ्कलन गरिएको थियो । उनका अनुसार दाताले घोषणा गरेको थप रु सात लाख २६ हजार एक सय ११ प्राप्त हुन बाँकी छ । सहयोगदाताको नाम शिलालेख बनाएर राखिने भएको छ ।

टाढाबाट देखिने गरी हनुमानको मूर्ति राखिएको छ । हनुमानको मूर्तिको पृष्ठभूमिमा धवलागिरि, अन्नपूर्ण र गुर्जा हिमाल देखिन्छ । यसैगरी कोतमन्दिर परिसरमा ताकमका विकास केसी र आकाश केसीको पहलमा खत्री परिवारले पितृ उद्धारका लागि प्रवेशद्धार निर्माण गरेका छन् ।

स्वदेश तथा विदेशमा रहेका ताकम र आसपासका गाउँका बासिन्दाबाट तीन वर्षअघि रु ८० लाख चन्दा जुटाएर कोतघर र अन्नपूर्ण–जगन्नाथ मन्दिरको पुनःनिर्माण भएको थियो । रु १५ लाख खर्चेर जगन्नाथ र अन्नपूर्ण देवताको मूर्ति राखिएको छ । सोह्रौँ शताब्दीमा निर्माण भएको ताकमकोत विसं १९९० र २०७२ को भूकम्पका कारण जीर्ण बनेको थियो । ताकमकोतको एकीकृत विकास गर्ने उद्देश्यले तयार पारिएको गुरुयोजनाअनुसार पहिलो कोतघर, अन्नपूर्ण–जगन्नाथ मन्दिर, सत्तल र सार्वजनिक शौचालय निर्माण भएको छ ।

ताकमकोतको पूर्वाधार निर्माणमा धवलागिरि गाउँपालिका र पर्यटन मन्त्रालयले पनि करिब रु एक करोड ५० लाख लगानी गरेका छन् । म्याग्दीको प्रमुख शक्तिपीठ मानिने ताकमकोतको जगन्नाथ अन्नपूर्ण मन्दिरमा पूजाआजा र भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास छ । जगन्नाथ, अन्नपूर्ण, दुर्गालगायत देवी–देवताको मूर्ति रहेका यहाँ नवदुर्गा, जेष्ठी पूर्णिमा, मङ्सिर पूर्णिमा, चैत्राष्टमी पर्वका अवसरमा विशेष मेला लाग्ने गर्छ ।

तत्कालीन राजाले कोतघरको रूपमा समेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहासिक महत्वका तोप, तरबार, खुँडा, खुकुरी, ढाललगायतका हातहतियार छन् । समुद्री सतहबाट दुई हजार पाँच सय मिटरको उचाइमा अवस्थित ताकमकोतबाट गुर्जा, धवलागिरि, निलगिरि, अन्नपूर्ण र माछापुच्छे« हिमशृङ्खलाका साथै मनोरम पहाडी भूगोल, ग्रामीण बस्ती र सूर्योदयको दृष्यावलोकन गर्न सकिन्छ ।