गण्डकी प्रदेश

चोकचोकमा सूचना बोर्ड

१५ बैशाख, डुम्रे । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिकाले फोहरमैला व्यवस्थापन गर्न सूचना बोर्ड राखेको छ । नगरपालिकाले दमौली बजारको चोकचोकमा अव्यवस्थित तरिकाले फोहर नफाल्न सचेतनाका लागि सूचना बोर्ड र फ्लेक्स राखेको हो ।

नगरपालिकाका सरसफाइ शाखा प्रमुख भाग्यशाली ढुङ्गानाले बजारमा फोहरमैला व्यवस्थापनमा सहयोग गर्न अपिलसहित नगरपालिकाले ‘माइकिङ’ समेत गरेको छ । बजार क्षेत्रमा फोहरमैला जथाभावी फालिँदा वर्षायाम होस् या अन्य समयमा पनि विभिन्न रोगको सङ्क्रमण बढ्नसक्ने भएकाले सचेतना जगाउन नगरपालिकाले सूचना बोर्ड र फ्लेक्स राखेको उनले बताए । “फोहरमैला तोकिएको समयबाहेक अन्य समयमा फोहरमैला यत्रतत्र फालिएका खण्डमा फोहरमैला फाल्ने व्यक्तिलाई जरिवाना गरिनेछ”, उनले भने।

नगरपालिकाले फोहरमैला व्यवस्थापन कार्यविधि २०७८ अनुसार नगरपालिका वा सम्बन्धित वडाले तोकिएको समय र स्थानबाहेक अन्यत्र फोहरमैला निष्काशन गरी जताततै राखेमा वा फालेमा कार्यविधि अनुसार जरिवाना गर्ने उनले बताए।

“अटेर गरी कसुर गरेमा कारबाहीस्वरुप जरिवाना गरिनेछ”, उनले भने। उनका अनुसार नगरपालिकाले पहिलो पटक भए रु तीन हजारसम्म जरिवाना गर्ने प्रावधान निर्धारण गरेको छ । दोस्रो पटक सोही कसुर गरेमा रु तीन हजारदेखि सात हजारसम्म जरिवाना र फोहरमैला उठाउँदा लाग्ने खर्चसमेत निजबाट असुल उपर गर्न सकिने प्रावधान निर्धारण गरिएको छ । स्वच्छ, सफा व्यास नगर बनाउने उद्देश्यले यस्तो सूचना बोर्डमार्फत सचेत नागरिक बनाउन नगरपालिका लागिपरेको उनले बताए।